झापा,कात्तिक ३० । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) हरुले पनि कुटनीतिक राहदानी (रातो पासपोर्ट) पाउने भएका छन् ।
सरकारले राहदानी नियमावलीको दोस्रो संशोधन गर्दै राहदानी पाउनेहरुको सूचीमा एआईजीलाई थपेको हो । यो सूचीमा राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य निर्देशक तथा नेपाली सेनाका उपरथी समेत रहेका छन् ।
यसअघि यो सूचीमा नेपाल सरकारका सचिव, नेपाली सेनाका प्रधान सेनापति र रथी तथा प्रहरीका महानिरीक्षकसम्म समावेश थिए ।
संशोधनले विशेष अवस्थामा साधारण तथा अस्थायी पासपोर्ट दिने व्यवस्थामा समेत संशोधन गरेको छ । विभिन्न कारणले देशमा राहदानी हराएमा वा नासिएमा वा अन्य कारणले जारी गरिने एकतर्फी यात्रा अनुमतिपत्रको अवधि ५ महिना कायम गरिएको छ ।