धनकुटा, कात्तिक ३० । धनकुटा जिल्लाको धनकुटा नगरपालिकाभित्र मात्र पाइने अल्पसंख्यक तथा सिमान्तकृत आठपहरीया जातीको वाढाङ्मेट (मंसिरे चाड) को रौनक सुरु भएको छ।
यो पर्व मंसिरे औँसीसम्म मनाउने गर्दछन्। आठपहरिया जातिले वैशाखे, भदौरे र मंसिरे गरेर तीन वटा पर्व मनाउँछन्। जसमध्ये यसलाई विशेष महत्त्व दिएर मनाउने गरेका छन्।
यस चाडमा वर्ष दिनभित्र मृत्यु भएका आमा तथा बुवाको दुःखबाट उक्सिने, घरको जेठो छोरा जन्मिएको र नयाँ घर निर्माण गरेकोमा खुशी साटासाट गर्ने र दुर्घटना नहोस् भन्ने कामना गरिने वडा नम्बर ८ का नयराज आठपहरीयाले बताए ।
स्थानीय नारायण कुमार आठपहरियाले भन्छन्, ‘द्वादशी तिथिमा यो वर्षभित्र आमाबाबु गुमाउनेले धनकुटाबाट ५२ किलोमिटर दक्षिण सुनसरीको बराहक्षेत्र कोकाहा खोलासम्म खाली खुट्टा पुगेर कपाल र दाह्री खौरिएर स्नान गरी बराह भगवानको दर्शन गरेर बिहीबार सुनसरीको बराहक्षेत्र, कोकाहा हुँदै पुन धनकुटाको तमोर नदीस्थित भगुवा खोलाको बगरमा तीनदिने बाससहितको तीर्थ समापन गरेर शुक्रबार देवता घरमा लिएर फर्किन्छन्।’
तीर्थमा धनकुटा नगरपालिका भित्रका ओक्मालुङ्ग, भिरगाउ, वैरे, चितवाखड्का, चोकरोक, पुजारी टोल, चुवावुङ्ग, फुङ्सुवा, टोड्के, टेकुनाला, पेलेक्पाङ, तेत्रिडाङ, याक्ते, सान्ताङ, लगायतका स्थानमा बसोेबास गर्दै आएका वरखी बोक्नेको आठपहरीयाको आफन्त करिब २५० को हाराहारीमा उपस्थित रहेको थियो।