झापा, कात्तिक ३० । अन्तर्राष्ट्रिय व्यापारमा केही वर्षयता तीव्र उतारचढाव बेहोरेको नेपाली चिया (सिटिसी) को निर्यातमा उछाल आएको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को तीन महिनामा नेपाली चियाको निर्यात मूल्य र परिणामका हिसाबले करिब ५० प्रतिशतले बढेको छ ।

भन्सार विभागका अनुसार साउनदेखि असोजसम्म नेपालबाट एक अर्ब ७३ करोड रुपियाँको चियाको निर्यात भएको छ । यससँगै नेपालबाट धेरै निर्यात हुने वस्तुको सूचीमा चिया दोस्रो स्थानमा उक्लिएको छ । त्यसअघि आव २०८०÷८१ को सोही अवधिसम्म एक अर्ब २० करोड रुपियाँको चिया निर्यात भएको थियो ।

यस हिसाबले तीन महिनामै चिया निर्यात ५२ करोड रुपियाँले बढेको तथ्याङ्कले देखाउँछ । त्यसअघि आव २०७९÷८० मा एक अर्ब २६ करोड रुपियाँको चिया निर्यात भएको थियो ।

खासगरी भारतीय बजारमा नेपाली चियाको माग बढेपछि निर्यात बढेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रवक्ता डा. दीपक खनालले बताए । “भारतीय चियाका बोट पुराना हुँदै जाँदा उत्पादन घटेकाले त्यहाँबाट माग बढेको पाइएको छ,” उनले भने । २० औँ वर्ष पुराना त्यस्ता बोटबाट राम्रो चिया नहुने भएकाले भारतीय व्यवसायीले नेपाली चियाको खोजी गरेको उनको भनाइ छ । भारत विश्वमा धेरै चिया खपत हुने मध्येमा पर्छ । त्यसमा पनि सिटिसी चियाको खपत त्यहाँ धेरै हुन्छ ।
सिटिसी चिया उत्पादनका लागि चर्चित भारतको दार्जिलिङलगायतका क्षेत्रमा नै उत्पादन घटेपछि नेपालतर्फको माग बढेको प्रवक्ता खनालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्