झापा, मंसिर २ । हिउँद लागेसँगै कोशीटप्पु वन्यजन्तु आरक्षमा आन्तरिक पर्यटकको आगमन सुरु भएको छ । अन्य वर्षभन्दा यस वर्ष हिउँदको सुरुवाती समयमै आन्तरिक पर्यटकको आगमन सुरु भएको हो ।
वर्षा सकिएसँगै कोशीटप्पु वन्यजन्तु आरक्षमा घुम्न आउने आन्तरिक पर्यटकको संख्यामा दैनिक वृद्धि हुँदै गएको छ । कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका वरिष्ठ संरक्षण अधिकृत रामदेव चौधरीका अनुसार हिउँदमा बढी मात्रामा आन्तरिक पर्यटक कोशीटप्पु आरक्ष घुम्न आउने गरेका छन् ।
उनका अनुसार आगामी वर्षभन्दा अहिले आन्तरिक पर्यटकको आगमन राम्रो छ । आरक्षमा बढी मात्रामा शैक्षिक अवलोकनका लागि विद्यार्थी आउने गरेका छन् ।
पछिल्लो समय आरक्ष कार्यालयको अभिलेख अनुसार दैनिक एक सयभन्दा बढीको संख्यामा आन्तरिक पर्यटक घुम्न आउने गरेका छन् । अर्ना, चरा, गैँडा र हात्ती हेर्न पर्यटक कोशीटप्पु आरक्ष आउने गरेको आरक्ष कार्यालयले जनाएको छ ।
आरक्षमा चरा र वन्यजन्तु हेर्नकै लागि आन्तरिक र वाह्य पर्यटक आउने गरेका हुन् । वाह्य पर्यटकमा बेलायत, फ्रान्स, अमेरिका, चीन, रसिया आदि देशबाट प्रत्येक वर्ष पर्यटक कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालय आउने गरेका छन् । आरक्ष क्षेत्रसँग जोडिएका स्थानीय होटेल र सामुदायिक होमस्टेमा बास बसेर आरक्ष क्षेत्र घुम्ने गरेको स्थानीय प्रेमनारायण अधिकारीले जानकारी दिए । साइबेरिया, रसिया, ताजिकिस्तान, तान्जेनिया र तिब्बतबाट आउने पानीहाँस तराई क्षेत्र र आरक्षको सिमक्षेत्र र तालमा सजिलै चरा देखिने हुँदा चरा हेर्न पर्यटक कोशीटप्पु वन्यन्तु आरक्षमा आउने गरेको चराका जानकार अनिष तिम्सिनाले बताए । पाहुना चरा कोशीटप्पु आरक्षको सिम क्षेत्रमा सजिलै देखिने हुँदा चराका पारखी आउने गरेका छन् ।
जाडो छल्न पूर्वी पहाडी क्षेत्रबाट तराईको घाँसे मैदान र सिम क्षेत्रमा आएका फिस्टा, चुइयाँ, भद्राई र अर्जुनक प्रजातिका चरा हेर्न पर्यटक आउने गरेका छन् । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र र आसपासका क्षेत्रमा चरा आउने हुँदा चराका पाराखीहरू कोशीटप्पु आउने गरेका हुन् ।