झापा, मंसिर ३ । बसको ठक्करबाट बालिकाको मृत्युपछि सुनसरीको खनारमा उत्पन्न तनावमा २२ जना प्रहरी घाइते भएका छन् ।

स्थिति नियन्त्रणमा लिने क्रममा नेपाल प्रहरीतर्फ २० र सशस्त्र प्रहरीतर्फ २ जना गरी जम्मा २२ जना घाइते भएको र उनीहरुको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।आन्दोलनरत स्थानीयलाई नियन्त्रणमा लिन पुगेका सुनसरीका प्रहरी प्रमुख सुमनकुमार तिम्सिना, डीएसपी रामप्रसाद तिमल्सिना, इटहरीका डीएसपी लक्ष्मी भण्डारी लगायतका प्रहरी घाइते भएका छन् । स्थानीयको भीडले प्रहरीमाथि ढुंगामुडा गर्नुका साथै आगो निभाउन गएको रामधुनी नगरपालिकाको दमकलको सिसा फुटाएका छन् ।

स्थिति नियन्त्रण बाहिर गई प्रहरीमाथि ढुङ्गामुडा गरेपछि प्रहरीले इन्सास राईफलबाट ११ राउण्ड, ग्यास गनबाट ११ सेल अश्रु ग्यास, ३०३ राईफलबाट २५ राउण्ड ब्ल्याङ्क फायर , एसएलआरबाट २ राउण्ड, सटगनबाट ७ काटिज गरी जम्मा ५६ राउण्ड फायर गरी स्थितिलाई नियन्त्रणमा लिएको थियो । बस चालक विराटनगर –१३ वस्ने २७ वर्षीय अमित श्रेष्ठलाई इलाका प्रहरी कार्यालय इटहरी ल्याइएको छ भने आगजनीबाट क्षतिग्रस्त बस खनार ट्राफिक पोष्टको नियन्त्रणमा रहेको छ । बालिकाको शव साँझ ६.४४ बजे कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि कोशी अस्पताल विराटनगर पठाएको प्रहरीले जनाएको छ ।

हिजो साँझ ४.३० बजे प्रदेश नं. १–०१–००१ ख ४५७४ नं. को बसको ठक्करबाट एकजना छात्राको मृत्यु भएपछि आक्रोशित भीडले सो यात्रुबाहक बसलाई आगो लगाइदिएका थिए । दुर्घटना गराएर भागेको बसलाई सुनसरी–मोरङ सिँचाई आयोजनाको पुलनजिकै स्थानीयले आगो लगाएका हुन् । आगजनीबाट बस पूर्णरूपले जलेर नष्ट भएको छ । बसमा आगजनी हुन थालेपछि यात्रुहरु निस्किएर भागेका थिए ।

इटहरी –१२ स्थित रिलाईन्स मिल अगाडि कोशी लोकमार्गमा इटहरीबाट बिराटनगरतर्फ जाँदै गरेको सो बसले साइकलयात्री इटहरी –१० बस्ने श्यामनारायण यादवकी छोरी १३ वर्षीया सम्झना यादवलाई ठक्कर दिएको थियो । इटहरी– ९ स्थित जनता माध्यमिक विद्यालयमा ९ कक्षामा पढ्ने सम्झनाको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्