झापा,मंसिर ३ । कर्मचारीहरु कार्यालय पुगिसकेपछि सरकारले शोक विदा दिएको छ ।

काम गर्न अधिकांश कर्मचारीहरु कार्यालयमा पुगिसकेपछि बिहान ९.३० बजे पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले सार्वजनिक विदा दिएको खबर सुनेर कर्मचारीहरु कार्यालय पुगेर घर फर्किएका छन् । त्यस्तै पठनपाठन शुरु गरिसकेका विद्यालयहरुले छुट्टी दिएका छन् ।

जीवनको पहिलो पटक अफिस पुगेपछि सार्वजनिक बिदा भन्ने थाहा पाएको जिल्ला प्रशासन कार्यालय झापाका यदुनन्द दाहालले बताए । त्यस्तै बिर्तामोड नगरपालिकाका अधिकांश कर्मचारीहरु कार्यालय आइसकेपछि सार्वजनिक विदाको खबर सुनेर घर फर्किएका छन् । ‘प्रायः सबै कर्मचारीहरु कार्यालयमा आइसकेका थिए’ बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले भने,‘ खबर सुनेर घर फर्किए ।’ त्यस्तै महेन्द्ररत्न माध्यमिक विद्यालय अनारमनीले एक घण्टी पठनपाठन गरेर विधार्थीहरुलाई विदा दिएको छ । ढिलोगरी आफूहरुले जानकारी पाएकाले एक घण्टी पढाइ सकेर विदा दिएको शिक्षक युवराज कट्टेलले बताए । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकले ढुंगानाको निधनमा गहिरो शोक र श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गर्दै आज बिदा दिने निर्णय गरेको जनाए ।
त्यस्तै ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने पनि सरकारले निर्णय गरेको छ । त्यसैगरी स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय पनि सरकारले गरेको छ ।

कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । त्यसलगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएको थियो । पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्