भद्रपुर, मंसिर ३ । भद्रपुर रिङरोड तथा मेचीनगर लिंकरोडको रूपमा रहेको भद्रपुर– ९ र मेचीनगर– १५ जोड्ने हडिया पुलको मर्मतमा बेवास्ता गरिँदा भत्किएको जीर्ण पुलमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

सडक नयाँ र स्तरीय भएपनि भद्रपुर—मेचीनगर जोड्ने जीर्ण हडिया पुलमा यात्रा गर्नेको ज्यान जानसक्ने खतरा देखिएको हो । भद्रपुर– ९ घोडामाराबाट मेचीनगर– १५ ज्यामिरगढी चिया बगानमा जोडिने यो पुल दुई वर्षयता भत्कन थालेपनि मर्मतका लागि सरोकारवाला निकायले चासो देखाएका छैनन् । संचारमाध्यमले पटकपटक ध्यानाकर्षण गराएपनि भद्रपुर र मेचीनगर नगरपालिकाले बेवास्ता गर्दै आएका छन् ।

पुलको पिलरनजिक ठूलो भ्वाङ परेको छ । यात्रुलाई सचेत बनाउन रूखका हाँगा गाडेर भत्किएको संकेत दिइएको छ । पुलमा भएको साइन बोर्ड पनि हटाइएको छ । जुन रहस्यमय रहेको छ।

दिउँसो यात्रा गर्दा भत्किएको ठाउँ देखिएपनि राति यात्रा गर्दा यात्रु दुर्घटनामा पर्न सक्ने स्थानीय बताउँछन् । पुलको अवस्थाबारे भद्रपुर र मेचीनगर नगरपालिकालाई स्थानीयले अघिल्लै वर्ष जानकारी गराएका थिए । उत्तरपूर्वी क्षेत्रका बासिन्दालाई सदरमुकाम जानका लागि छोटो छरितो मार्गको रूपमा रहेको भद्रपुर—मेचीनगर लिंकरोड अति व्यस्त रहने गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्