झापा, मंसिर ३ । मोटरसाइकलको ह्यान्डलभित्र लागूऔषध ब्राउनसुगर लुकाएर ल्याउने दुई युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा झापा गाउँपालिका–५ बस्ने २४ वर्षीय देबेन्द्र चौधरी र बिर्तामोड –५ बस्ने ३६ वर्षीय सुरेश चौधरी रहेका छन् । आज साँझ ४ः५० बजे पुरानो मेची पुलमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको कुकुरसहितको टोली र नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे ९ प ९०३७ नम्बरको मोटरसाइकल चालक देवेन्द्र र पछाडि सवार सुरेशलाई शंका लागेर चेकजाँच गर्दा मोटरसाइकलको ह्याण्डलमुनिको तारभित्र लुकाई छिपाई ल्याएको १ ग्राम ब्राउनसुगर फेला परेको थियो । दुवैलाई आवश्यक कार्बाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाएको जनाइएको छ ।
त्यस्तै आजै साँझ ५ बजे पुरानो मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री पाँचथर फालेलुङ –६ बस्ने २४ वर्षीय बसन्त राई लागूऔषधसहित पक्राउ परेका छन् । शंका लागेर चेकजाँच गर्दा उनले मलद्वारमा लुकाई ल्याएको ८ ग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाएको जनाइएको छ ।