विर्तामोड, मंसिर ३ । नेपाल एभरेस्ट कार्डमम प्रोडक्सन एण्ड प्रोसेसिङ प्रा. लि.ले आफ्नो नयाँ अलैची प्रशोधन केन्द्र संचालन गरेको छ। कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामले सोमबार सो उद्योगको उद्घाटन गरेका छन् ।
यसबाट नेपालको मसला उद्योगलाई रुपान्तरण गर्दै उच्च गुणस्तरीय हिमाली अलैंची तथा मसला अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्नको लागि नयाँ आयाम थपेको संचालकले विश्वास लिएका छन् । झापाका ब्यवसायी ओमकृष्ण बिमली, पार्वता खरेल बिमलीले सो उद्योग सञ्चालनमा ल्याएका हुन् ।
युएसएआईडीको ट्रेड एण्ड कम्पेटिटिभनेस प्रोग्रामको सहयोगमा कम्पनीले अत्याधुनिक प्रशोधन मेशिनरी प्राप्त गरेको छ। साथै, ‘एभरेस्टशान ब्रान्डअन्तर्गत ३० नयाँ मूल्यवर्धित उत्पादनहरू बजारमा ल्याउन तयारी गरिरहेको छ। यो साझेदारीले भारतको सीमाभन्दा बाहिर, खाडी मुलुक अष्ट्रेलिया, युरोपियन युनियन र संयुक्त राज्य अमेरिकाजस्ता अन्तर्राष्ट्रिय बजारहरूमा यी नयाँ उत्पादनहरूको प्रवद्र्धनका लागि रणनीतिक अभियान सुरु गर्न सक्षम बनाएको प्रमुख कार्यकारी अधिकृत प्रज्वल बिमलीले बताए ।
नयाँ प्रशोधन केन्द्रको सञ्चालनसँगै नेपालको मसला उद्योगलाई रुपान्तरण गर्दै उच्च गुणस्तरीय हिमाली अलैंची तथा मसला अन्तर्राष्ट्रिय बजारमा नयाँ आयाम थपेको उद्योगका अध्यक्ष ओमकृष्ण बिमलीले बताए । उनका अनुसार सो उद्योगबाट उत्पादित सामानहरुमा ८० प्रतिशत स्थानीय कच्चा पदार्थको प्रयोग हुने र २० प्रतिशत मात्र विदेशी कच्चा पदार्थको प्रयोग गरिने उद्योगकी सञ्चालक पार्वता खरेल बिमलीले बताइन् । उनका अनुसार सञ्चालनमा आएको उक्त केन्द्रले कालो अलैचीको प्रशोधन गरी आवश्यक तेल, माउथ फ्रेशनर र बिभिन्न मसलाहरु उत्पादन गर्नेछ ।
उद्योगका अध्यक्ष बिमलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मन्त्री हाङ्गाम, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, ब्यापार तथा निकासी प्रवर्धन केन्द्रका महानिर्देशक डा. शरदबिक्रम राणा, युएसएआइडीको ट्रेड एण्ड कम्पेटिटिभनेस प्रोग्रामका प्रतिनिधि जेसन सुकलगायतले शुभकामना मन्तव्य राखेका थिए ।सञ्चालिका पार्वता खरेल बिमलीले स्वागत गरेको कार्यक्रममा धन्यवाद कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रज्वल बिमलीले दिएका थिए ।