झापा, मंसिर ५ । नक्कली फेसबुक आईडी बनाई महिलाको चरित्र हत्या गरी सामाजिक रुपमा दुःख दिने एक भारतीयलाई इलाम प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत आसाम राज्य, जिल्ला नगाउँ, कोलियावर सुलुङ ढोलपानी घर बताउने २१ वर्षीय प्रशान्त दास रहेका छन् । उनले नक्कली फेसबुक आईडीबाट चिनजान भएका इलाम सूर्योदय नगरपालिकाका एक महिलाले चलाउने गरेको फेसबुकबाट उनको परिवारको फोटो तानेका थिए । त्योसंगै ती महिलाको आफन्तको नक्कली फेसबुक आईडी बनाई सो आईडीबाट महिला समेतको फोटो पोस्ट गरी चरित्र हत्या गरेका थिए । उनले अश्लिल यौनजन्य फोटोहरु समेत पठाउने गरेका थिए ।
उनलाई सोमवार प्रहरी चौकी फिक्कल इलामबाट खटिएको प्रहरीले सूर्योदय नगरपालिका–१० फिक्कल चोकबाट पक्राउ गरेको हो । पक्राउ परेका दासबाट एक थान मोवाइल बरामद भएको छ ।
उनलाई हिजो जिल्ला अदालत इलामबाट बिद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम अपराध मुद्दामा १०दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।