झापा, मंसिर ५ । बीएण्डसी अस्पताल बिर्तामोडका संचालक दुर्गा प्रसाईंसंगै उनका १० जना सहयोगी पनि पक्राउ परेका छन् ।
सीआईबी प्रवक्ता होविन्द्र बोगटीका अनुसार प्रसाईंसहित उनी समर्थक १० जना पनि पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा देवी संग्रौला, यदुनाथ सिग्देल, बलबहादुर तामाङ, माधव पौड्याल, ओमप्रकाश लुइँटेल, सुदीप नेपाल, राजु रानाभाट, विश्वास सुवेदी, तुलसी विक र रमेश सिंह छन् । अरू केही अझै फरार रहेको प्रहरीले जनाएको छ ।
साइबर अपराधको आरोपमा पक्राउ परेका प्रसाईंविरुद्ध प्रहरीले आपराधिक लाभलगायत आधा दर्जन कसुरमा अनुसन्धान सुरु गरेको छ । प्रसाईंविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आपराधिक लाभ, सम्पत्ति शुद्धीकरण, साइबर अपराध, संगठित अपराध, किर्ते र बैंकिङ कसुरमा अनुसन्धान थालेको हो । विभिन्न व्यक्ति प्रयोग गरी अरूलाई धम्क्याएर रकम असुलीको विषयमा प्रसाईंमाथि आपराधिक लाभको कसुरमा अनुसन्धान थालिएको हो ।
‘दुर्गा प्रसाईंको मान्छे हुँ’ भन्दै विभिन्न व्यक्तिले बैंकर र व्यवसायीलाई धम्क्याएर रकम मागेको जाहेरी सीआईबीमा परेको छ । बैंकर र व्यवसायी गरी ४ जनाले अपरिचित व्यक्तिबाट धम्की आएको भन्दै एक साताअघि सीआईबीमा जाहेरी दिएका थिए ।
भारतीय ग्याङस्टर ‘लरेन्स बिस्नोई’ को समेत नाम लिएर भारत र यूएईबाट धम्क्याएर रकम मागेको प्रहरीको भनाइ छ ।
पक्राउपछि प्रसाईंलाई साइबर ब्युरोको जिम्मा लगाइएको र सीआईबीबाट अन्य कसुरहरूमा अनुसन्धान थालिएको छ । प्रहरीले प्रसाईंसँग जोडिएका आर्थिक कारोबारसम्बन्धी आवश्यक कागजात उपलब्ध गराउन नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ । एक महिनाअघि राष्ट्र बैंकले पनि प्रसाईं र उनका आफन्तका नाममा विदेशबाट शंकास्पद कारोबार देखिएको भन्दै अनुसन्धान गर्न सीआईबीमा पत्र पठाएको थियो । विभिन्न देशबाट प्रसाईं र उनका आफन्त÷नातेदारका खातामा सन् २०२१ यता साढे १० करोड रुपैयाँ बराबरको विदेशी मुद्रा आएको भन्दै राष्ट्र बैंकले यो रकम शंकास्पद कारोबार हुन सक्ने आशंकासहित अनुसन्धानका लागि एक महिनाअघि सीआईबीमा पत्र पठाएको थियो ।
यसबारे अनुसन्धान गर्न राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ (एफआईयू) बाट एक महिनाअघि पत्र आएको प्रहरीको भनाइ छ । उक्त रकम गैरकानुनी रूपमा आएको भेटिए सम्पत्ति शुद्धीकरणसहितको कसुरमा कारबाही हुने छ । प्रसाईंले आफ्ना व्यवसाय सञ्चालनका लागि विभिन्न बैंक÷वित्तीय संस्थाबाट साढे ५ अर्ब रुपैयाँभन्दा बढी कर्जा लिएको देखिएको र यो कर्जा कानुनअनुसार प्रयोग भए÷नभएको विषयमा पनि अनुसन्धान अघि बढेको एसपी बोगटीले बताए । यसमा बैंकिङ कसुरअन्तर्गत कर्जा दुरुपयोगसम्बन्धी कानुनअनुसार अनुसन्धान अघि बढाइएको छ ।