झापा,मंसिर ५ । साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेका बीएण्डसी अस्पताल बिर्तामोडका संचालक दुर्गा प्रसाईंलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

नेपाल प्रहरीको साइबर ब्युरो (सीआईबी) ले प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

काठमाडौमा प्रसाईं पक्राउ परेपछि झापामा पनि उनका समर्थकहरुको प्रहरीले खोजी शुरु गरेको छ । प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान र त्यसको भ्रातृ संगठन नागरिक प्रतिरक्षा बल (पीडीएफ) मा आवद्ध भएकाहरुलाई खोजी गरिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले हिजो भक्तपुर निवासबाट प्रसाईसहित १० जना समर्थकहरुलाई पक्राउ गरेको थियो । प्रसाईंसहित देवी संग्रौला, यदुनाथ सिग्देल, बलबहादुर तामाङ, माधव पौड्याल, ओमप्रकाश लुइँटेल, सुदीप नेपाल, राजु रानाभाट, विश्वास सुवेदी, तुलसी विक र रमेश सिंह पक्राउ परेको प्रहरीले जनाएको छ  ।

तर, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले विज्ञप्ति जारी केन्द्रीय संयोजक प्रसाईसहित दुई दर्जन बढीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीले भक्तपुरबाट करिव ३० जनालाई पक्राउ गरी लगेकोमा राति करिव ८ जना सुरक्षा गार्डहरुलाई रिहा गरेको अभियानले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्