बिर्तामोड, मंसिर ५ । बिर्तामोड–६ स्थित इन्द्रचन्द्र क्याम्पसको ११ औं क्याम्पस सभा बुधवार सम्पन्न भएको छ ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले क्याम्पस सभाको उद्घाटन गर्दै इन्द्रचन्द्र क्याम्पसलाई आधिकारिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणपत्रका लागि पहल गर्ने आश्वासन दिएका छन् । उनले त्यसका लागि आवश्यक मापदण्ड पुरा गर्न आग्रह गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि सभामुख घिमिरेले उनले शिक्षा क्षेत्रमा तीब्र प्रतिष्पर्धा भइरहेको बताउँदै सोही अनुसार मेहनत गर्न क्याम्पस परिवारलाई आग्रह गरेका छन् । सभामुख घिमिरेले भने, ‘विद्यार्थीहरुले गुणस्तरीय र सुविधासम्पन्न शैक्षिक संस्था खोजिरहेका छन् । त्यस अनुसार व्यवस्थापन मिलाउनुपर्छ ।’ शिक्षा र स्वास्थ्यमा हब बनेको बिर्तामोडमा अस्पताल र शैक्षिक संस्थाहरुबीच प्रतिष्पर्धा भइरहेको उनको बुझाई छ । शिक्षा क्षेत्र पुरानै नीति अनुसार चलिरहेको भन्दै सभामुख घिमिरेले शिक्षा विधेयक छिट्टै पारित गरेर ऐन निर्माणमा भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् ।
क्याम्पस प्रमुख प्रकाश दाहालले क्याम्पसको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले क्याम्पसको आगामी चुनौतिहरु समेत प्रस्तुत गर्दै घट्दो विद्यार्थी संख्याप्रति सरोकारवालाको ध्यानाकर्षण गराए । भौतिक पूर्वाधारमा सम्पन्न भएर पनि यातायातको सुविधा नहुँदा विद्यार्थीहरु भर्ना गराउन नसकेको उनले बताए । उनले क्यूएए पाएपछि क्याम्पसले नयाँ फड्को मार्ने बताउँदै अन्य संकायहरु समेत थप गर्नुपर्ने माग राखे ।
सो अवसरमा जग्गादाता, अक्षयकोष दाता, उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो ।क्याम्पसका अध्यक्ष हरिचरण शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, शनिश्चरे क्याम्पसका प्रमुख मोहन ओली, बिर्तामोड–६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, एकीकृत समाजवादीका बिर्तामोड इञ्चार्ज श्रीप्रसाद मिश्र, स्ववियु सभापति पवन दाहाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
क्याम्पस सञ्चालक समितिका सदस्य एवम् जग्गादाता राजेन्द्र थापाले स्वागत गरेको कार्यक्रममा ‘इन्द्रचन्द्र दर्पण’ विमोचन गरिएको थियो ।