झापा, मंसिर ६ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा आज अपरान्ह मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाएर अपरान्ह ४ः४५ बजेतिर दुर्घटना भएको हो। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा परेर मोरङको पथरीशनिश्चरे नगरपालिका–५ का ३३ वर्षीय वर्षीय दीपक धिमाल र कानेपोखरी गाउँपालिका–४ रमाइलोका अन्दाजी २७÷२८ वर्षीय किशोर गुरुङको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उपचारका लागि धिमाललाई उर्लाबारीकै अरनिको अस्पताल र गुरुङलाई मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो। अस्पताल पु¥याउनसाथ दुवै जनालाई चिकित्सकले मृत घोषित गरेको जानकारी प्रहरीले दिएको छ। प्रहरीका अनुसार दुर्घटनामा परेर दुई जना गम्भीर घाइते भएका छन्। कानेपोखरी–४ का अन्दाजी २५÷२६ वर्षीय अमृत लिम्बू र पथरीशनिश्चरे–५ का ३७÷३८ वर्षीय विष्णु धिमाल घाइते भएको एसपी चिमरियाले बताए।
उनका अनुसार उर्लाबारीमा सम्भव नभएपछि उनीहरूलाई थप उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल ल्याइएको छ। दुर्घटनामा परेर दुवै मोटरसाइकल पूर्णरूपमा क्षतिग्रस्त भएका छन्।
इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर राकेश यादव नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ।