झापा, मंसिर ६ । झापाको कन्काई ६ मा दश दिनपछि हुन गइरहेको उपनिर्वाचनका लागि उम्मेद्वारहरुले चुनावी घरदैलो शुरु गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेद्वारहरुको अन्तिम नामावली सार्वजनिक गरेको भोलिपल्ट आजदेखि उम्मेद्वारहरुले घरदैलो शुरु गरेका हुन् । नेकपा एमाले कन्काई ६ नं वडा कमिटी अध्यक्ष बृहष्पति ओलीको नेतृत्वमा वडा अध्यक्ष पदका एमाले उम्मेद्वार तुलाराम बस्नेतसहितले घरदैलो शुरु गरेका हुन् ।
सिटी सफारीमा सूर्यअंकित झण्डा र साउण्ड बक्ससहित एमालेले घरदैलो कार्यक्रम गरिरहेको छ ।
त्यस्तै स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओलीले आफ्नो चुनाव चिन्ह चापाकलसहित मतदाताको घर–घरमा भोट मागिरहेका छन् ।
त्यस्तै कांग्रेस उम्मेद्वार रामगोपाल ओलीले समूह बनाई घरदैलो कार्यक्रम गरिरहेका छन् भने माओवादी उम्मेद्वार गणेशबहादुर थापाले पनि झण्डा र साउण्ड बक्ससहित सामूहिक रुपमा घरघरमा पुगेर भोट मागिरहेका छन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष केशब ओझाको नेतृत्वमा पार्टीका वडा अध्यक्ष पदका उम्मेद्वार नारायण निरौलासहित सिटी सफारीमा साउण्ड बक्समा नाराहरु बजाउँदै घरदैलो गरिरहेको पाइएको छ ।
त्यस्तै मंगोल नेशनल अर्गनाइजेसन , जनमत पार्टी , नागरिक उन्मुक्ति पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका उम्मेद्वारहरुले पनि घर–घरमा पुगेर चुनाव प्रचार प्रसार गरिरहेका छन् ।