झापा, मंसिर ७ । सशस्त्र प्रहरीले भारतबाट भन्सार छलेर अबैध रुपमा ल्याईराखेको १२ लाखभन्दा बढी मूल्य बराबरको सामान कचनकवलमा बरामद गरेको छ ।
आज बिहान ८ः३० बजे कचनकवल ६ बस्ने ४० वर्षीय नजाम खातुनको घरमा भारतबाट भन्सार छलेर अबैध रुपमा ल्याईराखेको अन्दाजी १२ लाख २० हजार ६०० मूल्य बराबरको ६ पोका लत्ताकपडा फेला परी बरामद गरेको हो ।
बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल (प्रस्तावित) सीमा सुरक्षा गुल्म घेराबारीबाट खटिएको टोलीले खातुनको घरमा छापा मारेको थियो । बरामद सामान आवश्यक कानूनी प्रकृया पुरा गरी भन्सार दाखिला गर्ने प्रकृयामा रहेको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हे.क्वा. झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक मदनकुमार रसाईलीले बताए ।
त्यस्तै आज बिहान ११.४५ बजे मेचीनगर ६ सुँगुरठ्याक बस्तीमा सशस्त्र प्रहरी बल नेपाल (प्रस्तावित) सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको मोबाईल गस्ती टोलीले बेवारिसे अबस्थामा रहेको रु १ लाख ८० हजार बराबरको १५ बोरा सुपारी र अन्दाजी रु ५७ हजार बराबरको ५ हजार २८६ वटा बिभिन्न जातका फूलको बिरुवा बरामद गरेको छ ।
बरामद फूलका बिरुवा नेपाल प्रहरी, पत्रकार र स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको र सुपारी मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाएको प्रहरी नायव उपरीक्षक रसाईलीले जानकारी दिए । अवैध चोरी निकासी नियन्त्रण गर्न सशस्त्र प्रहरीले सक्रिय भएर काम गरिरहेको रसाइलीको भनाई छ ।