लक्ष्मी उप्रेती,

मेचीनगर । काँकरभिट्टा नाका भएर कोशी प्रदेशका पूर्वी पहाडी जिल्लामा उत्पादित बन्दाकोपी, काउली र ब्रोकाउलीको निर्यात घटेको मेची भन्सार कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०८०÷०८१ को पहिलो चार महिनाको अवधिको तुलनामा चालु आर्थिक वर्ष २०८१÷०८२ को सोही अवधिमा यसको निर्यात घटेको मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी भन्सार अधिकृत गणपति कँडेलले बताए ।

गत आर्थिक वर्षमा काँकरभिट्टा नाका हुँदै ११ करोड ५४ लाख ६३ हजार रुपैयाँ मूल्य बराबरको ७२ लाख ५२ हजार ३ सय ५५ मेट्रिक टन बन्दाकोपी, काउली र ब्रोकाउली भारत निर्यात भएको थियो ।

चालु आर्थिक वर्षको सोही अवधिमा ८ करोड ३१ लाख ५३ हजार रुपैयाँ मूल्य बराबरको ५२ लाख २ हजार ३ सय २५ मेट्रिकटन यी वस्तु भारत निर्यात भएको हो । गत आवको तुलनामा चालु आर्थिक वर्षको सोेही अवधिमा ३ करोड २३ लाख १० हजार रुपैयाँ मूल्य बराबरको २० लाख ५० हजार ३० मेट्रिकटन अर्थात २७ दशमलव ९८ प्रतिशत कम निर्यात भएको सूचना अधिकारी कँडेलले जानकारी दिए ।

कोशीको संखुवासभा, भोजपुर, तेह्रथुम, धनकुटा, इलाम, पाँचथर,ताप्लेजुङ जिल्लामा बन्दाकोपीको व्यावसायिक खेती हुने गरेको छ । कुनै बेला निकासी व्यापारमा महत्वपूर्ण टेवा पुर्याएको बन्दाकोपीको निर्यात अघिल्ला तीन चार वर्षयता क्रमशः ओरालो लाग्दै गएको छ । निर्यातका क्रममा बेला बेला हुने झन्टझटिलो प्रावधान र विभिन्न समस्याका कारण पूर्वीनाकाबाट हुने बन्दाकोपी निकासी आर्थिक वर्ष २०७४÷०७५ यता तुलनात्मकरुपमा क्रमशः ओरालो अवस्थामा छ ।

यी जिल्लामा व्यवसायिकरुपमा किसानले उत्पादन गररेकोे बन्दा धेरैजसो भारतर्फ निर्यात हुने गरेको कार्यालयले जनाएको छ । भारतमा नेपाली बन्दाकोपीको माग उच्च रहेको छ । कहिलेकाहि त माग अनुसार पूर्ति गर्न नसकिने अवस्था समेत सिर्जना हुने गरेको थियो । शुरुमा निर्यातमा केही समस्या रहेपनि पछिल्लो समय कोरोना नियन्त्रणका लागि भन्दै नेपाल सरकारको लकडाउनका कारण निर्यात कम भएको थियो ।

((

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्