झापा,मंसिर ७ । अवैध रुपमा भित्र्याइएका भारतीय कपडाहरु झापाका अधिकांश बजारमा बिक्री हुने गरेको पाइएको छ ।

नाकाबाट भन्सार तिरेर कपडा भित्र्याउने नगरेपनि नेपाली बजारमा भारतीय कपडा छ्यापछ्याप्ती पाइन्छन् । मेची भन्सार कार्यालयमा भन्सार तिरेर भारतीय कपडा भित्र्याएको रेकर्ड नरहेको भन्सार प्रमुख राजेन्द्र चुँडालले बताए । भन्सारमा अन्य सामानको व्यापार भइरहँदा कपडाको व्यापार नभएको उनले स्पष्ट पारे ।

भन्सारबाट राजस्व तिरेर नल्याएपनि झापाका बजारहरुमा भारतीय कपडा ठूलो मात्रामा आपूर्ति भइरहेको छ । भारतीय कम्पनीका सर्टिङ, सुर्टिङ, सारीदेखि लिएर थान र तयारी कपडाको ठूलो कारोबार नेपाली बजारमा हुने गरेको छ ।

यसैबीच केही दिनदेखि प्रहरीले भन्सार छलेर भित्र्याएको भारतीय कपडा लगातार नियन्त्रणमा लिँदै आएको छ । यसक्रममा सशस्त्र प्रहरीले भारतबाट भन्सार छलेर अबैध रुपमा ल्याईराखेको १२ लाखभन्दा बढी मूल्य बराबरको सामान कचनकवलमा बरामद गरेको छ । शुक्रवार बिहान ८ः३० बजे कचनकवल ६ बस्ने ४० वर्षीय नजाम खातुनको घरमा भारतबाट भन्सार छलेर अबैध रुपमा ल्याईराखेको अन्दाजी १२ लाख २० हजार ६०० मूल्य बराबरको ६ पोका लत्ताकपडा फेला परी बरामद गरेको हो । बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल (प्रस्तावित) सीमा सुरक्षा गुल्म घेराबारीबाट खटिएको टोलीले खातुनको घरमा छापा मारेको थियो । बरामद सामान आवश्यक कानूनी प्रकृया पुरा गरी भन्सार दाखिला गर्ने प्रकृयामा रहेको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हे.क्वा. झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक मदनकुमार रसाईलीले बताए ।


त्यस्तै शुक्रवार बिहान ११.४५ बजे मेचीनगर ६ सुँगुरठ्याक बस्तीमा सशस्त्र प्रहरी बल नेपाल (प्रस्तावित) सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको मोबाईल गस्ती टोलीले बेवारिसे अबस्थामा रहेको रु १ लाख ८० हजार बराबरको १५ बोरा सुपारी र अन्दाजी रु ५७ हजार बराबरको ५ हजार २८६ वटा बिभिन्न जातका फूलको बिरुवा बरामद गरेको छ । बरामद फूलका बिरुवा नेपाल प्रहरी, पत्रकार र स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको र सुपारी मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाएको प्रहरी नायव उपरीक्षक रसाईलीले जानकारी दिए ।
अवैध चोरी निकासी नियन्त्रण गर्न सशस्त्र प्रहरीले सक्रिय भएर काम गरिरहेको रसाइलीको भनाई छ ।

त्यस्तै भन्सार छलेर अवैध रुपमा भित्र्याएको कपडा प्रहरीले बिर्तामोडमा बरामद गरेको छ ।
बिहीवार दिउँसो ३ बजे बिर्तामोड– ५ को इलाम स्टेन्डनजिक अन्दाजी मूल्य १ लाख ७१ हजार बराबरको ३ बोरा कपडा बरामद गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । बरामद गरिएका महिला र जाडोको कपडा मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको उनले जानकारी दिएका छन् ।

यसअघि गत साता भन्सार छलेर ल्याएको अढाई लाख मूल्य बराबरको लत्ताकपडा सशस्त्र प्रहरीले बिर्तामोड– ५ को महानन्द चोकमा बरामद गरेको थियो । भन्सार नतिरी अवैध रुपमा भारतीय कपडा भित्र्याउने क्रम बढिरहँदा त्यसलाई निरुत्साहित गर्न राजस्व विभागले चासो राख्नुपर्ने भन्सार प्रमुख चुडाल बताउँछन् । राजस्व विभागले यसअघि छापा मार्ने गरेपनि केही समयदेखि कार्वाही गरेको देखिदैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्