द्रोण अधिकारी
भद्रपुर । झापा सदरमुकाम चन्द्रगढीस्थित ऐतिहासिक स्थल चन्द्रगढको पुरातात्विक महत्वको बारेमा अनुसन्धान हुन नसक्दा पहिचान गुम्ने देखिएको छ ।


दुई हजार वर्ष पुरानो मौर्यकालीन सभ्यतासंग गाँसिएको भनिएको यस क्षेत्रको प्राचीनताबारे अध्ययन गर्न सरकारले चासो नदिँदा चन्द्रगढको पहिचान छाँयामा पर्दै गएको हो ।

भद्रपुर–बिर्तामोड सडकको देउनिया पुल उत्तरमा रहेको यस क्षेत्रले बिर्तामोड र भद्रपुर नगरपालिकाको सीमासंग जोडिएर आफ्नो अस्तित्व खोजिरहेको छ । यस स्थलको उत्खनन्का लागि तीन तहकै सरकारले चासो नदिँदा आन्तरिक तथा बाह्य पर्यटकको नजर समेत पर्न सकिरहेको छैन । पछिल्लो समय रेखदेखको अभावका कारण ऐतिहासिक पहिचान बोकेको चन्द्रगढ झाडीले छोपिएको छ । नाम सुनेर कोही यस स्थानमा आए पनि भेट्टाउन गाह्रो छ ।

उत्खनन् र उचित संरक्षणको पखाईमा रहेको चन्द्रगढलाई नजिकको सरकार मानिएको भद्रपुर नगरपालिकाले समेत चासो नदिएको स्थानीयको गुनासो छ । भद्रपुर नगरपालिका ९ र १० संग सीमा गाँसिएको देउनिया खोलाको छेउमा अवस्थित चन्द्रगढलाई जोगाइराख्न चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले सुरू गरेको भनिएको पहल पनि आर्थिक अभावका कारण प्रभावकारी बन्न सकेको छैन ।
यसको संरक्षणका लागि भद्रपुर नगरपालिकालाई लिखित र मौखिक रूपमा आग्रह गरेर वन समितिले अवधारणापत्र बुझाएको वर्षौ भइसक्यो । सोही अवधारणापत्रका अनुसार भद्रपुर नगरपालिकामा गुरूयोजना बनाई काम थालिएको भनिए पनि केही टहरा बनाउने कामभन्दा अन्य उपलब्धी हुन सकेको छैन । निर्माण भएका टहरा पनि झार जंगलले पुरिएर हराउने अवस्थामा छन् ।

यो स्थान मौर्यकालीन इतिहाससंग जोडिएको यहाँका अग्रजहरू बताउँछन् । प्रारम्भिक अध्ययन अनुसार विभिन्न १६ वटा थुम, २ वटा पोखरी र बीच–बीचमा अग्लो माटोको बाटोले घेरिएको गोलो आकारको स्थल झापाकै किचकबध धार्मिक स्थलभन्दा पुरानो रहेको विज्ञहरूको दावी थियो । तत्कालीन चन्द्रगढी गाविस २ मा पर्ने ६२ बिगाह जमिनमा श्री ३ चन्द्र शम्शेर आएर सैनिक किल्ला कायम गरी भौतिक रूपमा गढ निर्माण गरेका थिए । त्यहाँ सानो भवन, सिसाको इनारसमेत निर्माण गरिएको अनुमान गरिएको छ । हाल उक्त इनार भग्नावशेषको रूपमा पाइन्छ । यस क्षेत्र वरपर वन फडानी गरी आदिवासी समुदायलाई चन्द्र शम्शेरले नै मानव बस्ती बसाएको स्थानीयको भनाइ छ । पूर्वी दक्षिणी झापाको पहिलो मानव बस्ती पनि यही हुन सक्ने आसपासका बासिन्दाको भनाइ छ । यस स्थानको उत्खनन् नगरी यहाँको प्राचीनताबारे भन्न नसकिने अग्रजहरू बताउँछन् ।

सो स्थानमा स्थानीयको पहलमा लक्ष्मीनारायण मन्दिरको निर्माण गरिएको छ । सो क्षेत्रलाई धार्मिक तथा ऐतिहासक पर्यटकीय स्थलको रूपमा विकास गराउन स्थानीय लागिपरेका भएपनि आर्थिक अभावमा पर्यटकीय क्षेत्र बन्न सकेको छैन । बिहान बेलुका जंगली हात्ती गाउँ छिर्नुअघि जम्मा भएर बस्ने ठाउँका रूपमा परिचित हुँदै गएको चन्द्रगढ वनमाराले ढाकिएको छ ।

चन्द्रगढको महत्वको बारेमा चन्द्रगढी र भद्रपुरबासीलाई नै थाहा नभएको स्थानीय लोकबहादुर कुँवर बताउँछन् । चन्द्रगढको नामबाटै साविक चन्द्रगढी गाविस भएको इतिहास रहेको उनको भनाइ छ । तर अहिले चन्द्रगढी गाविस भद्रपुर नगरमा समायोजन भएपछि चन्द्रगढको अस्तित्वमाथि विस्तारै ग्रहण लाग्न थालेको कुँवरको अनुभव छ ।

साविक चन्द्रगढी भद्रपुर नगरमा विलय भएपछि अहिले सो इतिहासबारे स्थानीय बासिन्दा अनविज्ञ रहने अवस्था आएको छ । चन्द्रगढी सामुदायिक वन क्षेत्रनजिकै रहेको चन्द्रगढको किल्ला झारजंगलले छोपिएपछि वन समितिले सरसफाईको प्रयास गरेपनि पूर्ण रूपमा सफलता पाउन सकिरहेको छैन ।
विगतमा चन्द्रगढ किल्लामा कोही भित्र पस्न सक्दैन थियो तर, वन समितिकै पहलमा सरसफाई गर्ने अभियान थालेपछि केही हदसम्म पस्न सकिने अवस्था आएको छ । तर, किल्ला र गढ क्षेत्रको पुरानो पहिचानलाई दृष्यात्मक स्वरूपमा हेर्न सक्ने अवस्था भने बन्न सकेको छैन । करिब १० विगाह क्षेत्रफल ओगटिएको यस क्षेत्रलाई सरसफाई गर्दा वन समितिले विगतमा एक पटकमा ३ लाख २७ हजार रुपैयाँ खर्च गरेको थियो । तर अहिले पनि सो क्षेत्रको झाडीले ढाकिएको स्वरूपमा परिवर्तन ल्याउन सकिएको छैन ।
चन्द्रगढ पुरानो किल्लाको रूपमा देखिएकाले यसलाई एक पटक उत्खनन् गरे मात्र ऐतिहासिक वा धार्मिक स्थल भनि पुष्टि हुने जानकारहरूको भनाइ छ । स्थानीय सरकारले उत्खनन् गर्न आर्थिक सामथ्र्यले नभ्याउने जनाउने गर्छ । एउटा सानो टुक्राको उत्खनन् गर्दा अहिले १५ देखि १६ लाख रुपैयाँसम्म खर्च लाग्ने जनाइन्छ ।

नेपालमा रहेको प्रविधिले मात्र उत्खनन् सम्भव नहुने हुँदा पटक–पटक विदेशमा लगेर परीक्षण गर्दा दुई÷चार करोड लाग्न सक्ने भएकोले रकम अभावका कारण चन्द्रगढ उत्खनन्को पर्खाइमा रहेको छ । अहिलेसम्मको अध्ययन र पुुरातत्व विभागको अवलोकन भ्रमणले चन्द्रगढ २ हजार बर्ष पुरानो किल्ला हो, जुन मौर्यकालीन समयसंग जोडिएको हुन सक्छ भन्ने अनुमान भएपनि जंगल र पहाडनजिकै बनाइएको किल्ला कसको हो ? भनेर प्रमाणित भएको छैन । धार्मिक तथा ऐतिहासिक स्थल किचकबधको उत्खनन्को बेला पुरातत्व विभागको टोली यहाँ आएको थियो । यसको पहिचानका लागि यस स्थानको संरक्षण गर्दै आएको चन्द्रगढी सामुदायिक वन र भद्रपुर नगरपालिकाले पहल गर्न सके चन्द्रगढको प्राचीन इतिहासको खोजी हुन सक्ने स्थानीयको भनाइ छ ।

झापामा अर्जुनधारा, किचकबध, सताक्षीधाम, विराटपोखरी, समयगढजस्ता ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेका धार्मिक स्थलहरू रहेका छन् । केही स्थानमा पुरातत्व विभागले उत्खनन् गरी धार्मिक तथा ऐतिहासिक स्थल भनी प्रमाणित गरिसकेको छ । त्यस्तै इतिहास र पहिचान बोकेको चन्द्रगढ आसपासका बासिन्दाको गाईचरन र हिउँदमा वनभोज खाने ठाउँका रूपमा रहन बाध्य छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्