झापा, मंसिर ८ । इलामको नेपाल भारत सीमावर्ती बजार पशुपतिनगरमा भारतीय पर्यटकको चहलपहल बढेको छ । कोरोना महामारीको संक्रमणपछि सुस्ताएको पशुपतिनगरमा भारतीय पर्यटकको चहलपहलसँगै आर्थिक गतिविधि बढेको हो ।

पशुपतिनगरमा अहिले भारतीय र बंगाली पर्यटकको चहलपहल बढेको सूर्योदय नगर उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईले बताए । भारतको पश्चिम बंगाल दार्जिलिङ र सिक्किमका पहाड घुम्न आएका पर्यटक पशुपतिनगर आउने गरेको पाइएको छ ।

पश्चिम बंगालको सिलिगुडी, डुवर्स, नक्सल लगायतका स्थानबाट भारतकै पहाडी क्षेत्र घुमफीरका लागि आएका पर्यटक पशुपतिनगर, कन्याम र अन्तु घुम्न आउने गरेको स्थानीयको भनाइ छ । भारतीय पर्यटकका कारण पशुपतिनगर बजार खचाखच हुन थालेको स्थानीय ब्यवसायी बिमल देवानले जानकारी दिए ।

उनका अनुसार मंसिर महिना सुरु भएपछि भारतीय पर्यटकको घुइँचो लाग्न थालेको छ । ‘मंसिरदेखि बैशाखसम्म भारतीय पर्यटकको भिड लाग्ने गर्छ’ देवानले भने । आएका पर्यटकले कपडा, सजावटका सामग्री र नेपालका खाद्यबस्तु किनेर फर्कीने गरेका छन् । घिउ, छुर्पी, ललिपपसहितका कोसेलीका परिकार प्राय भारतीय पर्यटकले खरिद गर्ने गरेको स्थानीय ब्यवसायी बन्दना प्रधानले जानकारी दिइन् ।

पशुपतिनगर बजार बर्षौदेखि भारतीय पर्यटकको भरमै चलीरहेको छ । पशुपतिनगर नाका भएर दैनिक एक हजार बढी पर्यटक भित्रिने गरेको पर्यटन कार्यालय पशुपतिनगरको तथ्याङ्कमा उल्लेख छ । यहाँबाट इलामका बिभिन्न पर्यटकीय स्थल र ताप्लेजुङको पाथीभरा मन्दिरसम्म जाने पर्यटक भित्रिने गरेका छन् ।

भारतसँग सहज नाकाको रुपमा रहेको पशुपतिनगरसम्म भारतीय सवारी साधन ल्याउन भन्सार शुल्क लाग्दैन । जसलेगर्दा पर्यटक बढी आउने गरेको पाइन्छ । पशुपतिनगर बाहेकका अन्य पर्यटकीयस्थल पुग्नका लागि भन्सार र सडकको रुट पर्मिट भारतीय सवारी साधनले तिर्नुपर्छ ।

कोशी प्रदेश सरकारले भारतीय सवारी साधनको पटके र सडक इजाजत पशुपतिनगरमा काट्न थालेपछि पर्यटकलाई थप सहज भएको सूर्योदय नगरपालिका वडा नं. २ का वडाध्यक्ष डिक बम्जनले जानकारी दिए । पर्यटकको चहलपहल बढेपछि पशुपतिनगरको ब्यवसाय चलायमान बन्नुका साथै होटल ब्यवसाय समेत फस्टाएको व्यवसायीहरुको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्