झापा, मंसिर ९ । ओखलढुङ्गामा २५६ कुपोषित बालबालिकाको उपचार गरिएको छ । चार वर्षको अवधिमा उक्त संख्याको कुपोषणबाट ग्रसित बालबालिकाको निःशुल्क उपचार गरिएको अस्पतालले जनाएको छ ।
जिल्ला अस्पताल अन्तर्गत सञ्चालित पोषण पुनःस्थापना गृहबाट बालबालिकालाई कुपोषणका कारण हुने बौद्धिक तथा शारीरिक अपाङ्गताको सिकारबाट बचाउन सेवा प्रदान भइरहेको रुम्जाटार अस्पतालका डा. साजन दुवालले बताए । आवासीय पोषण पुनःस्थापना गृहमा कुपोषणले ग्रस्त भएका जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई राखेर आवश्यक निःशुल्क स्वास्थ्य उपचारका साथै सन्तुलित आहारको व्यवस्था मिलाइएको डा. दुवालले जानकारी दिए ।
बालबालिकाको कुपोषणको उपचार तथा व्यवस्थापन, बालबालिकाको उचाइ र उमेर अनुसारको तौल बनाउन आवश्यक उपचारात्मक कार्य गर्न, बालबालिका साथै हेरचाह गर्ने अभिभावकलाई समेत पोषणसम्बन्धी ज्ञान तथा सीप प्रदान गरिएको उनको भनाइ छ ।
जिल्ला अस्पतालमा सञ्चालित पोषण पुनःस्थापना गृहबाट ओखलढुङ्गालगायत खोटाङ र सोलुखुम्बुका नागरिकले समेत सेवा लिने गरेका छन् । पोषण पुनःस्थापना गृहमा राखिएका कुपोषित बालबालिकालाई अवस्था हेरेर दैनिक ८ देखि १२ पटकसम्म पोषिलो आहारा खुवाउने गरिएको अस्पतालले जनाएको छ ।