लक्ष्मी उप्रेती,
मेचीनगर । पछिल्लो समय अवैधानिक रुपमा घरेलु कामदारका रुपमा वैदेशिक रोजगारमा जाने महिला कामदारको संख्या बढ्दै जान थालेको छ । तर, विनासीप घरेलु कामदारका रुपमा जाने अधिकांश महिलाले कुनै न कुनै समस्या भोग्नुपर्ने र वैदेशिक रोजगारबाट फर्केर आउनुपर्ने बाध्यता रहेको पीडित महिलाहरुले गुनासो गरेका छन् ।

वैदेशिक रोजगारबाट फर्किएका महिलालाई समाजले हेर्ने दृष्टिकोण फरक रहेको भन्दैं उनीहरुले स्वदेशमै सीप सिकाएर र व्यवसायिक बनाउन स्थानीय सरकारसमक्ष आग्रहसमेत गरेका छन् ।

झापाको मेचीनगरमा वैदेशिक रोजगार तथा मानव बेचबिखन प्रभावितहरु र स्थानीय सरकारबीचको संवाद कार्यक्रममा बोल्ने अधिकाँश सहभागी महिलाहरुले यस्तो गुनासो गरेका हुन् । मानव बेचबिखनको रोकथाम र मानव बेचबिखनबाट प्रभावित महिला, किशोरी तथा बालबालिकाहरुको संरक्षण गर्ने उद्धेश्यले डिएफएटी अष्ट्रेलियाको सहयोग र टिएचएफ नेपालको साझेदारीमा शक्ति समूहले कार्यक्रम आयोजना गरेको थियो । इलामको सूर्याेदय नगरपालिका, रोङ गाउँपालिका तथा झापाको मेचीनगर नगरपालिकामा यसरी फर्केर आएका महिलाहरुलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रमका सहभागीहरुले स्थानीय सरकारलाई आफ्नो पीडा सुनाएका छन् । रोजगारीका लागि अवैधानिक रुपमा विदेश पुग्ने अधिकांश महिला कि ठगिन्छन् कि त बेचिने गरेको उनीहरुको भोगाई छ ।

महिलालाई कुनै न कुनै सीप सिकाएर उद्यमशील बनाउन सके उनीहरुले स्वदेशमै बसेर धेरै काम गर्न सक्ने भन्दै सूर्याेदय नगरपालिका —६ इलामकी ३२ वर्षीया जानुका राई (नाम परिवर्तन) सिलाई–कटाई, तरकारी खेती, व्यवसाय आदि गरेरै भएपनि महिलाहरुले सजिलै जीविकोपार्जन गर्न सक्ने बताउँछिन् । ६ वर्ष कुवेत बसेर फर्किएकी राईले सवारी चालकको सीप सिकेर सवारी चालक अनुमतिपत्र लिइसकेकी छन् । यदि महिला वैदेशिक रोजगारका लागि विदेसिने हो भने हातमा कुनै न कुनै सीप सिकेर मात्र जान उनको अनुरोध छ ।

दलालहरुले श्रम स्वीकृतिविना अवैधानिक रुपमा चोर बाटो भएर विदेश लैजाने र त्यहाँ पुगेपछि पनि अनेकौँ समस्या झेल्नुपर्ने भएपनि अझै अवैधानिक रुपमा विदेश जाने महिलाको संख्या बढ्दै गएको छ । जसबाट ठगीका घटना पनि बढ्दै जान थालेको सरोकारवालाहरुको भनाई छ । इलाम नगरपालिका वडा नम्बर —१० गोदककी २९ वर्षीया सार्थकुमारी तामाङ (नाम परिवर्तन) दिल्ली हुँदै कुवेत पुगिन् । उनले त्यहाँ साढे तीन वर्ष घरेलु कामदारकारुपमा काम गरिन् । त्यस वखत उनले विदेशमा भोग्नु परेको पीडा अहिले सम्झन पनि चाहन्नन् । उनले थुप्रै ठाउँमा खरिद बिक्री हुँदै कुवेत पुगेको र श्रम स्वीकृतिविना अवैधानिक रुपमा चोर बाटो भएर विदेश जाने महिलाले अनेकौँ समस्या झेल्नुपरेको बताउँदै गर्दा उनको गला अबरुद्ध बनिसकेको थियो ।

‘३० देखि ३५ हजार रुपैयाँ दलाललाई बुझाएँ’ उनले पीडा सुनाउँदै भनिन्—‘ हामीलाई दिल्ली हुँदैं काठमाडौं पुर्यायो । त्यहाँ २१ दिन राख्यो । कसैले सोध्यो भने तान्जानिया हिँडेको भन्नु भनेर सिकायो, जसरी विदेश पुर्यायो त्यहाँको त कुरै छाडाँै । विदेश पुगेर जुन पीडा सहन बाध्य भईयो अहिले सम्झन पनि मन लाग्दैन । विदेशको समस्या भोग्नेलाई मात्र थाहा छ ।’ अझ विनासीप विदेश पुगेका महिला कामदारको हालत झनै कष्टकर रहेको उनको भनाई छ ।

यदि सरकार आफैँले त्यस्ता बेरोजगार महिलालाई स्वदेशमै व्यवस्थापन गर्न सकेको खण्डमा एकातिर उनीहरुको आर्थिक अवस्थामा सुधार आउनेछ भने अर्कोतिर मुलुकको आर्थिक विकासमा पनि टेवा पुग्ने रोङ गाउँपालिका वडा नम्बर—३ इलाम कुटीडाँडाकी ३२ वर्षीया पूजा भुजेल(नाम परिवर्तन)को प्रतिक्रिया छ । भुजेल अढाई वर्ष कुवेत बसेर विभिन्न समस्या बेहोरेर फर्कि आएकी हुन् । ‘विदेशमा अनेक समस्या थिए, जसोतसो फर्केर आएर अहिले चटपटे बेचेर बसेकी छु’उनले थपिन । राज्यले विभिन्न उत्पादनमूलक उद्योग स्थापना गरेर महिलालाई यहीँ रोजगारी प्रदान गर्न सके खाडी मुलुकको तातो घाममा काम गर्न तयार महिलाहरु आफ्नै देशमा काम गर्न पाए भने खुशी हुने भुजेलको भनाई छ ।

१७ महिना लेवनान बसेर फर्किएकी सूर्याेदय नगरपालिका— १३ लक्ष्मीपुर इलामकी ४८ वर्षीया गंगा पराजुली (नाम परिवर्तन ) त्यहाँ पुग्नेवित्तिकै स्वदेश फर्किन चाहन्थिन् । तर, उनले चाहेर पनि फर्किन सकिनन् । ‘दलाललाई ८० हजार रुपैयाँ बुझाएर त्यहाँ पुगे । तर, त्यहाँको समस्याले लामो समय बस्न सकिनँ र जसोतसो स्वदेश फर्किएँ ’ उनले भनिन् । विदेश जान धेरै कुरा सिक्नु पर्ने रहेछ भन्ने उनले त्यहाँ पुगेर मात्र थाहा पाईन् । ‘मलाई भाषाको ज्ञान थिएन् भाषा नबुझ्दा धेरै समस्या भयो, गाली गर्दथ्यो’ उनले भनिन् —‘अहिले म त्यहाँ भोगेका सबै पीडा सुनाउनै सक्दिनँ ।’

पर्याप्त ज्ञान नहुनु, सीपको दक्षतामा कमी हुनु, अरुको प्रलोभनमा पर्नु लगायतका कारण अवैधानिक रुपमा घरेलु कामदारका रुपमा विदेश जाने महिलाको संख्या बढ्दै जान थालेको र घरेलु कामदारमा जाने अधिकांश महिलाले विभिन्न समस्या झेल्नुपरेको मेचीनगर नगरपालिका उपप्रमुख मीना पोख्रेल उप्रेतीको बुझाई छ ।

‘अवैधानिक रुपमा विदेश जाने धेरै महिलाहरुलाई सम्झाउनु पर्ने, किन भने उनीहरुलाई दलालले थुपै्र आश्वासन बाँडिसकेको हुन्छ’ उनको भनाई छ । वैदेशिक रोजगारीमा सकेसम्म नजान र यदि जानु परे सीप सिकेर मात्र जान उनले आग्रह गरिन् ।
सरकारले घरेलु कामदारमा जान रोक लगाए पनि दलालको भरमा अधिकांश महिला कामदार अवैधानिक रुपमा विदेश जाँदा ठगिने क्रम बढेको सरोकारवाला संघ संस्थाहरुले जनाएका छन् । स्वदेशमा अवसर र सम्भावना छैन भनेर विदेसिनु नहुने ती संघ संस्थाहरुले जनाएका छन् । रोजगारीले गर्दा सम्पूर्ण जीवन नै अन्धकारमय भएका उदाहरण धेरै बनिसकेका छन् ।

अहिले रोजगारीका क्षेत्रमा जे–जस्ता समस्या देखापरेका छन्, त्यसको हल गर्न आर्थिक मुद्दाहरुमा ध्यान जानुपर्ने अधिवक्ता कमल प्रधानको भनाई छ । जबसम्म आर्थिक विकासको गति तीव्र बन्न सक्दैन, तबसम्म समाजमा बेरोजगारीको अवस्था जारी रहने अधिवक्ता प्रधानले बताए । यसो गर्नसके बेरोजगार भई विदेशमा जाने र बेचिने क्रम हल हुने सम्भावना हुन्छ ।

रोजगार खोज्दै विदेश पस्ने नेपाली महिलाहरुलाई स्वदेशमै व्यवस्थापन गर्न सक्नु सबैभन्दा राम्रो उपाय भएको सूर्याेदय नगरपालिका इलामका कार्यपालिका सदस्य लतादेवी गौतम अधिकारीको भनाई छ ।

महिलाको अवस्थामा सुधार आउन नसक्नुमा महिला र पुरुषलाई समान शिक्षा प्रदान गर्न नसक्नु एउटा प्रमुख कारक तत्व मान्न सकिने शिक्षाविद् घनश्याम कार्कीको भनाई छ । ‘महिला दिदीबहिनीका लागि सीपमूलक तालिम तथा ज्ञान अभिवृद्धि गर्नेखालका कार्यक्रम ल्याएर उनीहरुमा उद्यमशीलता विकास गरिदिन सकिन्छ । विदेशमा रहेका महिला कामदारले दुःख पाउनुको प्रमुख कारण भनेको उनीहरुमा आवश्यक सीप नभएर नै हो ’ कार्कीले भने । वैदेशिक रोजगारीको आकारमा धेरै वृद्धि भए पनि यसको व्यवस्थापन सहीरूपमा हुन नसकिरहेको उनको टिप्पणी छ । कार्यक्रममा मेचीनगर नगरपालिकाका महिला तथा बालबालिका शाखाका प्रमुख,सूर्याेदय नगरपालिका र रोङ गाउँपालिकाका इलामका जनप्रतिनिधिहरु, शक्ति समूहका प्रमुख प्रतिनिधिलगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्