शिवगञ्ज, मंसिर ११ । शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्रा (रोशन)ले सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार पुनर्निर्माणका लागि स्थानीय सरकारको आवश्यक परे पालिकासँग सिधै समन्वय गर्न प्रधानाध्यापकलाई सुझाएका छन् ।

उनले विद्यालयसँग सम्बन्धित शाखा, नगर प्रमुख वा उपप्रमुख जोसुकैसँग पनि विद्यालयको हरतरहको समस्या समाधानका लागि लिखित रुपमा जानकारीसहित योजना माग गर्नुपर्ने बताए ।

रुद्र– गौरी श्री –अम्बिका ओली प्रतिष्ठान भद्रपुर र छिमेकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड झिलझिलेले शिवसताक्षी वडा नम्बर ४ को त्रिभुवन माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै नगर प्रमुख थोप्राले भने,‘ सरकारी कार्यालयमा सम्बन्धित वडाको सिफारिस, विद्यालयको लेटर प्याडमा लिखित निवेदनसहित आवश्यक अन्य कागजातसहित योजना माग गर्नुपर्छ । अनि मात्र योजनाका लागि प्राविधिकले नापजाँच गरेपछि आवश्यक बजेट विनियोजन हुने र त्यसको कार्यान्वयन हुन्छ ।’

सामाजिक सञ्जाल, भाषण र लिखित जानकारी बाहेकका विधि अपनाएर सार्वजनिक गरिएका विषयवस्तु र योजनाका बारेमा सम्बन्धित निकायलाई आधिकारिक जानकारी नहुने उनले बताए । उनले भने, ‘आधिकारिक माग निवेदन नभएका योजना र विषयवस्तुउपर आवश्यक कारबाही गर्न पालिकाको आर्थिक प्रशासन शाखाबाट नमिल्ने पनि उनले बताए ।

स्थानीय सरकारको हैसियतले थोप्राले समय मिलाएर पालिकासँग आवश्यक योजनाको मागका लागि शिवसताक्षी नगरपालिकामा सम्पर्क गर्न पनि प्रधानाध्यापकलाई सुझाएका छन् ।

रुद्र– गौरी श्री –अम्बिका ओली प्रतिष्ठान र छिमेकी सहकारीले सो विद्यालयका १०६ जना विद्यार्थीलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरेको थियो। उक्त कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख मेघाहाङ थोप्रा थिए। उनले विद्यालयको मैदान बर्षातका बेला हिलाम्मे हुने र छाना चुहिने स्थानीय अभिभावकको गुनासो सुनेपछि यस्तो बताएका हुन् । विद्यालय व्यवस्थापन समितिले निर्णय गर्ने र कार्यान्वयन प्रशासकको हैसियतले प्रधानाध्यापकले नै गर्नुपर्ने भएको हुँदा यस्ता मामलामा प्रधानाध्यापक चनाखो हुनुपर्ने उनले बताए ।

नगरपालिकाले नगरभित्रका अधिकांश सामुदायिक विद्यालयका टिनका छाना हटाउने अभियान सुरु गरेको छ। उनले भने,‘ कुनै पनि योजना एकैचोटि ह्वात्तै सम्पन्न हुँदैन । क्रमिक रूपमा हुन्छ ।यो सबैलाई थाहै छ। विद्यालयको टिनको जस्ता हटाउन लगायतका अन्य शैक्षिक सुधारका निमित्त पालिकाले यथेष्ठ बजेटको व्यवस्था गरेको छ। योजनाका विषयमा पालिकामा आउनुस् यसै पटक समस्याको समाधान हुन्छ।’
कार्यक्रममा वडा अध्यक्ष विष्णु प्रसाई, नेपाली कांग्रेस महासमिति सदस्य भक्ति सिटौला, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश्वर दुलाललगायतले प्रतिष्ठान र छिमेकी बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजका लागि अनुकरणीय कार्य गरेर समाजमा गतिलो उदाहरण प्रस्तुत गरेको बताए ।
विश्वविद्यालयका बाल कक्षादेखि कक्षा ६ सम्मका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको थियो। प्रतिष्ठानका केन्द्रीय कोषाध्यक्ष यज्ञराज (गोपाल)ओलीको अध्यक्षतामा भएको कार्यक्रमको औचित्यमाथि सहकारीका उपाध्यक्ष उदयप्रकाश राई र स्वागत विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद चापागाईले गरेका थिए । कार्यक्रममा जाडोमा लगाउने न्यानो कपडा प्रदान गर्ने प्रतिष्ठान र सहकारीलाई सो विद्यालयले कदरपत्र प्रदान गरेको थियो। कार्यक्रमको सञ्चालन सहकारीका सञ्चालक समिति सदस्य बिनोद सापकोटाले गरेका थिए।

प्रतिष्ठानले कन्काई नगरपालिका, शिवसताक्षी नगरपालिका र भद्रपुर नगरपालिकाका ३०० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । भद्रपुर नगरपालिकामा मंसिर १६ गते वितरण गर्ने कार्यक्रम छ भने अन्य दुई पालिकामा यसअघि नै प्रतिष्ठानले न्यानो कपडा वितरण गरेको छ।

प्रतिष्ठान र सहकारी दुबैले शिवसताक्षी नगरपालिकाको वडा नम्बर ४ र ६ का तीनवटा विद्यालयका २०० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो। वडा नम्बर ४ को जनता आधारभूत विद्यालय र वडा नम्बर ६ को गौरीशंकर आधारभूत विद्यालयस मा बुधबार वितरण गर्ने कार्यक्रम रहेको सहकारीका कार्यकारी प्रमुख नरप्रसाद ओलीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्