झापा,मंसिर १३ । युद्धको चपेटामा रहेको युक्रेन नेपालको तेस्रो ठुलो निर्यातकर्ता मुलुक बनेको छ । रुससँग युद्धकै अवस्थामा रहेको युक्रेनबाट नेपालले चालु आर्थिक वर्ष २०८०÷८१ को चार महिना (साउन–कात्तिक) सम्म नौ अर्ब १० करोड रुपियाँको सामान आयात गरेको छ । युक्रेनभन्दा अघि छिमेकी मुलुक चीन र भारतबाट नेपालले सबैभन्दा धेरै वस्तु आयात गरेको छ ।
युक्रेनबाट नेपालले सबैभन्दा धेरै कच्चा सूर्यमुखी तेल आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । चार महिनामा नेपालले युक्रेनबाट आठ अर्ब २५ करोड रुपियाँको कच्चा सूर्यमुखी तेल आयात गरेको छ । युक्रेन विश्वमा सबैभन्दा धेरै सूर्यमुखी तेल उत्पादन गर्ने मुलुकमा पर्छ ।
सूर्यमुखी तेलबाहेक युक्रेनबाट नेपाललले कच्चा भटमास तेल, धनियाँको बिउ, गहुँ, तोरीका दाना पनि आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।
विभागको तथ्याङ्कले नेपालबाट युक्रेन पनि वस्तु निर्यात भएको देखाउँछ तर आयातको तुलनामा अत्यन्त कम मात्र वस्तु नेपालले युक्रेनतर्फ निर्यात गरेको देखिन्छ ।
नेपालले युक्रेनमा सबैभन्दा धेरै कुकुर तथा बिरालोको खाना निर्यात गरेको देखिन्छ । कात्तिकसम्म नेपालले ३५ लाख रुपियाँ बराबरको त्यस्तो खानेकुरा निर्यात गरेको छ । यसबाहेक १२ थान किताब पनि नेपालबाट निर्यात भएको देखिन्छ ।
विश्व अर्थतन्त्र नै प्रभावित गरेको रुस युक्रेनको युद्धका बिच पनि नेपालले भने युद्धरत युक्रेनबाट ठुलो परिमाणमा वस्तु आयात गरेको देखिन्छ । आयातकर्ता मुलुकका रूपमा युक्रेन नेपालको तेस्रो ठुलो व्यापार साझेदार पनि बनेको हो । गत आवभर पनि युक्रेन नेपालको चौथो ठुलो आयातकर्ता मुलुकका रूपमा रहेको थियो । गत आवमा नेपालले युक्रेनबाट छ अर्ब ४१ करोड रुपियाँ बराबरको वस्तु आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ । गत आवमा युक्रेनतर्फ नेपालको निर्यात भने शून्य थियो ।