झापा, मंसिर १५ । रोटरी क्लब बिर्तामोडका अध्यक्ष सुरेशकुमार अग्रवाल र उनकी धर्मपत्नी माया अग्रवालले आफ्नो ४४ औं वैवाहिक वर्षगाँठ सन्थाल बस्तीमा गएर मनाएका छन्।
बिर्तामोड नगरपालिका वडा नम्बर ८ स्थित प्याकुरेल चोकमा रहेको सन्थाल बस्तीकी बालिका दुर्गा बास्केलाई घरैमा गएर सहयोग गर्दै अग्रवाल दम्पतीले वैवाहिक वर्षगाँठ मनाएका हुन्। गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयमा कक्षा आठमा अध्ययनरत दुर्गाको दायाँ हात अपाङ्ग रहेको र उनको उक्त हातलाई कृत्रिम हात निर्माण गरिदिने उद्देश्यका साथ अग्रवाल दम्पतीले घरैमा गएर परिवारसँग परिचय गर्नुका साथै वैवाहिक वर्षगाँठको अवसरमा विभिन्न उपहारहरू समेत प्रदान गरेका छन् । सो अवसरमा अध्यक्ष अग्रवालले ती बालिकालाई झापाबाट बीरगंज अस्पतालसम्म जाने आउने र खान बस्नको प्रबन्ध गरिदिने घोषणा गरेका छन्। रोटरी क्लबको संयोजनमा ती बालिकाको हातको उपचार गर्ने प्रबन्ध मिलाइएको अग्रवालले बताए।
अग्रवाल दम्पती सन्थाल परिवारमा पुग्दा वरपरका अन्य समुदायको समेत उपस्थिति रहेको थियो। उनले उपस्थित समुदायलाई मिठाई ,बिस्कुट ,चाउचाउलगायतका खानेकुरा उपहारस्वरूप दिएका थिए। बास्के परिवारलाई एक बोरा चामल, पानी तताउने इलेक्ट्रिकल जग र बालिकालाई एक सेट ट्राउजरसमेत उपहारस्वरूप प्रदान गरेका थिए। अग्रवालले हरेक वर्ष जन्मदिन वा वैवाहिक वर्षगाँठको अवसर पारेर सामाजिक सेवा गर्दै आएका छन्।
बालिकाको हातको उपचार गरिदिने घोषणा गरेपछि बास्के परिवारमा खुसी छाएको छ। दुर्गाकी आमाको निधनपछि बाबुसमेत भारतमा काम गर्न गएकाले उनी मामा माइजूको आश्रयमा बस्दै आएकी छन् ।