झापा, मंसिर १५ । झापाको बिर्तामोड– ३ स्थित ऐतिहासिक , धार्मिक एवं पर्यटकीय स्थल विराटपोखरीमा यस वर्ष शतबीज छर्न आउने भक्तालुहरुको संख्या निकै बढेको छ ।
गत वर्षको बाला चतुर्दशीमा दुई–चार हजारको संख्यामा भक्तालुहरु आएकोमा यस वर्ष दश हजारभन्दा बढी भक्तालुहरुले शतबीज छरेको आयोजक विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिका सचिव जगन्नाथ भट्टराईले बताए । उनले विराटपोखरीमा निर्माण भएका भौतिक पूर्वाधार र आयोजक समितिले बाला चतुर्दशीका लागि गरेको तयारीका कारण भक्तालुहरुको संख्या बढेको जानकारी दिए । भजन कीर्तनका साथ रातभरि जाग्राम बसी बिहान भक्तालुहरुले विराटपोखरी वरिपरि शतबीज छरेका थिए । महाभारतकालमा विराट राजाले खनेको जनविश्वास रहेको सो पोखरी ५ विगाह ५ कठ्ठा क्षेत्रफलमा फैलिएको छ ।
हिजो साँझ मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङको प्रमुख आतिथ्य तथा विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिका अध्यक्ष इन्द्र प्रसाईको अध्यक्षतामा भएको कार्यक्रमका वक्ताहरुले लामो समय ओझेलमा परेको धार्मिक, ऐतिहासिक एवं पर्यटकीय स्थल विराटपोखरीको विकासका लागि सबैजना लाग्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि गुरुङ , बिर्तामोड ३ का वडा सदस्य हरि बास्कोटा , नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराई , माओवादी केन्द्रका नगर अध्यक्ष मोहन सुब्बा , राप्रपाकी नगर अध्यक्ष रन्जु प्याकुरेललगायतले शुभकामना मन्तव्य राखेका थिए । आयोजक संस्थाका सचिव भट्टराईले स्वागत गरेको कार्यक्रमको संचालन सहसचिव अर्जुन उप्रेतीले गरेका थिए ।
उद्घाटन कार्यक्रमपछि सन्ध्याकालीन भजन कीर्तन आयोजना गरिएको थियो । स्थानीय कलाकार र बिर्तामोडका २० वटा कीर्तन मण्डलीले भजन प्रस्तुत गरेको सहसचिव उप्रेतीले बताए । कार्यक्रममा सबै कीर्तन मण्डलीलाई सम्मान गरिएको उनले जानकारी दिए । बाला चतुर्दशीका लागि विराटपोखरीलाई सजाएर आकर्षक बनाइएको थियो । त्यहाँ जडान गरिएको ४ सयवटा झिलिमिली बत्तीले विराटपोखरीको शोभा बढाएको थियो । करिव ६० हजार रुपैयाँको लागतमा युवा समाजसेवी सजेश शिवाकोटीले सो सहयोग गरेको सचिव भट्टराईले जानकारी दिए । उनका अनुसार भक्तालुहरुको सुविधाका लागि पोखरी सरसफाई , टेन्ट निर्माणलगायतका कार्यहरु गरिएको थियो । शतबीज छर्न आएका भक्तालुहरुबाट डेढ लाखभन्दा बढी आर्थिक सहयोग संकलन भएको सचिव भट्टराईले जानकारी दिए । उनले कार्यक्रमका लागि जलकुमार गुरुङले २१ हजार , रुद्र चुँडालले १५ हजार , श्रद्धा पोखरेल र कमल कडरियाले ५–५ हजार रुपैयाँ सहयोग गरेको बताए । त्यसबाहेक अन्य धेरैले सहयोग गरेका छन् ।
केही वर्षयता थप भौतिक संरचना निर्माण भएसँगै विराटपोखरीको स्वरुप फेरिएको अध्यक्ष प्रसाईले बताए । महाभारतकालीन इतिहाससँग जोडिएको विराटपोखरीलाई .२०४२ सालदेखि नै व्यवस्थित गर्ने कार्य शुरु गरिएको भएता पनि यसमा कसैको ध्यान नजाँदा पोखरीको संरक्षण र प्रवर्द्धनको काम अघि बढ्न सकेको थिएन ।
लामो समय उपेक्षित बनेको यसको संरक्षण र विकासका लागि स्थानीयको सक्रियतामा विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समिति गठन भएयता केही काम भएपनि सरकारको ध्यान पुग्न सकेको थिएन । विगत केही वर्षयता विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिको सक्रियतामा उत्साहजनक कामहरु भइरहेको अध्यक्ष प्रसाईको भनाई छ ।