झापा, मंसिर १६ । झापाको सताक्षीधाममा आयोजित गोरक्षा महोत्सवको लागि शिवसताक्षी नगरपालिकाले भोलि स्थानीय विदा दिएको छ।

कार्यपालिकाको मंसिर १४ गतेको बैठकले गोरक्षा महोत्सवका लागि भोलि एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको शिवसताक्षी नगरपालिकाका प्रवक्ता बहादुर आङ्बोले बताए । उनले भने ‘आकस्मिक सेवाबाहेक अन्य सेवा एक दिनका लागि बिदा दिइएको छ ।’ नगरपालिका मातहतका कार्यालय र सामुदायिक विद्यालयमा बिदा दिएको आङबोले बताए।
गोलोक गोवर्धन गौशाला स्थापना भएपछि वर्षेनि गोरक्षा महोत्सव आयोजना भइरहेको छ । महोत्सवकै लागि शिवसताक्षी नगरपालिकाले सार्वजनिक विदा दिएको यो दोस्रो पटक हो। यसअघिको १०८ कुण्डीय कोटीहोममा पनि शिवसताक्षी नगरपालिकाले स्थानीय विदा दिएको थियो।

नगरपालिकाले करिव २५ विदेशी राष्ट्रका धार्मिक सन्त महात्माहरूको सताक्षीधाम क्षेत्रमा आवागमन हुने र उनीहरूको स्वागत सत्कारका लागि बिदा दिएको जनाएको छ। अमेरिका, अस्ट्रेलिया, क्यानडा, स्विजरल्याण्ड, भारत, भुटान, बर्मालगायतका मुलुकका धार्मिक पाहुना सताक्षीधाममा आइपुगेको गोवर्धन गौशालाले जनाएको छ।

गोरक्षा महोत्सव मंसिर १४ गतेदेखि शुरु भई २४ गतेसम्म सञ्चालन हुनेछ। यो महोत्सवको अनन्त श्री विभूषित बालसन्त मोहनशरण देव आचार्यजी महाराजले भोलि उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्