झापा ,मंसिर १६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अब राप्रपाको विकल्प नभएकाले ०८४ को निर्वाचनमा पहिलो पार्टी बनेरै छाड्ने दावी गरेका छन् ।

प्रधानमन्त्री जहाँ गए पनि मुर्दावादको नारा लाग्न थालेको र दुई ठूला दलका नेताहरू चाहेको ठाउँमा जान नसकेको अवस्थामा राप्रपा मात्र अबको विकल्प भएको उनले बताए।

झापाको बिर्तामोडमा आइतबार पार्टीको बिर्तामोड नगर अधिवेशन उद्घाटन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले सके ०८४ अघि नै सत्ता परिवर्तन गर्ने, नभए ०८४ सालको निर्वाचनमा राप्रपालाई पहिलो शक्ति बनाउन अहिलेदेखि नै काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

उनले भने, ‘उनीहरू जहाँ जान्छन्, त्यहाँ विरोध धेरै छ। मुर्दावादको नारा लाग्छ। ठूला दलको हालत त्यस्तो छ। अब हामी नै विकल्प हौँ।’उनले राप्रपामा देशभर समर्थन आइरहेको बताउँदै आफ्नो शक्ति चिन्न पार्टीका कार्यकर्तालाई निर्देशन दिए।

उनले भने, ‘देशका जुनसुकै स्थानमा राप्रपाप्रति समर्थन आइरहेको छ। तर, हाम्रै साथीहरूले आफ्नो शक्ति चिन्दैनन्। अब २०८४ सालको चुनावमा हाम्रो पार्टी पहिलो शक्तिमा आउनै पर्छ। त्यसको विकल्प नै छैन। त्यही मिसन लिएर काम गर्नुहोस्।’ प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रधानमन्त्रीको छनौट, संघीयता खारेजी, भ्रष्टाचारमुक्त समाज राप्रपाको मुख्य एजेण्डा रहेको र आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने भन्दै उनले राप्रपाका कुनै पनि तहका नेता तथा कार्यकर्ता यस्ता तिविधिमा संलग्न नरहने बताए ।

२०६४ सम्म औलामा गन्न सकिने मात्रै कार्यकर्ता रहेको पार्टीको नेतृत्वप्रति जनताको आशा र भरोसा बढेर राप्रपाको सिद्धान्त स्थापित भइसकेकाले अव कसैले रोकेर राप्रपा नरोकिने र २०८४ पछि देशको नेतृत्व राप्रपाले गर्ने उनको दावी थियो ।कार्यक्रमलाई सहायक महामन्त्री भारतेन्दुकुमार मल्लिक, प्रशिक्षण विभाग उपप्रमुख खुश्बु ओली,कोशी प्रदेश अध्यक्ष एवम् दमक नगरपालिकाका नगर प्रमुख राम थापा, जिल्ला अध्यक्ष केशब ओझा , बिर्तामोड नगर अध्यक्ष रञ्जु प्याकुरेललगायतले सम्बोधन गरेका थिए। नगर सचिव लक्ष्मी गौतमले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य राजकुमार प्रसाईले गरेका थिए ।

बिर्तामोडको नयाँ नेतृत्वको लागि तीन जनाभन्दा बढी आकांक्षी देखिएका छन् । लक्ष्मी गौतम ,नवीन भट्टराई , जनक खड्कालगायतले अध्यक्ष पदमा उम्मेद्वारी दिने बुझिएको छ । अध्यक्षका आकांक्षीहरुलाई निर्वाचन समितिको कार्यतालिका उपलब्ध गराउँदै निर्धारित समयमा सहमति कायम गर्न समय उपलब्ध गराएको जिल्ला अध्यक्ष ओझाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्