भद्रपुर, मंसिर १६ ।झापाका तीनवटा स्थानीय तहका सामुदायिक विद्यालयका ५ सयबढी विद्यार्थीलाई जाडोमा लगाउने न्यानो लुगा वितरण गरिएको छ।

रुद्र– गौरी श्री– अम्बिका ओली प्रतिष्ठान भद्रपुर र शिवशताक्षी नगरपालिकास्थित झिलझिलेको छिमेकी बचत तथा ऋण सहकारी संस्थाले सामुदायिक विद्यालयका विद्यार्थीलाई जाडोमा लगाउने न्यानो कपडा ट्रयाकसुट बितरण गरेका हुन्। प्रतिष्ठान एक्लैले कन्काई नगरपालिकाको वडा नम्बर ४ स्थित आदर्श विद्या मन्दिर, भद्रपुर नगरपालिका वडा नम्बर १ को हिमाली माध्यमिक विद्यालयमा र शिवसताक्षीको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा अध्ययन गर्ने ३०० विद्यार्थीलाई जाडोमा लगाउने कपडा वितरण गरेको थियो।

यस्तै सहकारीसँगको सहकार्यमा शिवसताक्षी नगरपालिकाको वडा नम्बर ४ स्थित त्रिभुवन माध्यमिक विद्यालय, जनता आधारभूत विद्यालय र वडा नम्बर ६ को गौरीशंकर आधारभूत विद्यालयका २०० विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको थियो।

योसँगै प्रतिष्ठानकी सदस्य तुलसादेवी ओलीले जिल्लाको अर्जुनधारा र कन्काई नगरपालिकामा फरक क्षमता भएका विद्यार्थी अध्ययनरत ३ वटा विद्यालयका ४१ विद्यार्थीलाई न्यानो कपडासहित खाद्यान्न बितरण गरेकी थिइन् ।
उनले ५ किलोग्राम चिउरा, ३ लिटर खाने तेल, पाँच किलोग्राम दाल, ३ किलोग्राम भुजिया र ५० किलोग्राम मसिनो चामल बितरण गरेकी थिइन् । ओलीले आफ्नो जन्मदिनको अवसरमा यी सामग्री प्रदान गरेकी हुन् ।

प्रतिष्ठानका अनुसार भद्रपुरको हिमाली माध्यमिक विद्यालयका १००, कन्काई नगरपालिकाका १००, शिवसताक्षी नगरपालिकाको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका १००, त्रिभुवन माध्यमिक विद्यालयका १०४, गौरीशंकर आधारभूत विद्यालयका ६९, जनता आधारभूत विद्यालयका ३७ गरेर झापाका ५१० विद्यार्थीले जाडोमा लगाउने न्यानो कपडा पाएका थिए।

शिवसताक्षीमा नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा, वडा नम्बर ६ का वडा अध्यक्ष मनोज खुलाल कार्की र वडा नम्बर ४ का वडा अध्यक्ष विष्णु प्रसाईले अलगअलग कार्यक्रममा विद्यार्थीलाई न्यानो कपडा बितरण गरेका हुन् ।

यस्तै भद्रपुर नगरपालिकामा नगरप्रमुख गणेश पोखरेल, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला , १ नम्बर वडाका वडा अध्यक्ष रामप्रसाद अधिकारी विद्यालयका प्रधानाध्यापक दीपक दाहाल र प्रतिष्ठानका पदाधिकारीले बितरण गरेका थिए ।
दाता संस्था रुद्र– गौरी श्री –अम्बिका ओली प्रतिष्ठानका केन्द्रीय कोषाध्यक्ष यज्ञराज ओली (गोपाल) ले अतिविपन्न, जेहन्दार र दाता संस्थाले लक्षित गरेका बालबालिकालाई शिक्षामा सहयोग गर्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको बताए । सबैले आफ्नो आम्दामीको स्रोतलाई आधार मानेर वार्षिक आम्दामीको दशांश सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न प्रयोजनमा सकेको सहयोग गर्न उनले आह्वान गरे। प्रतिष्ठानको वार्षिक कार्ययोजना अनुसार विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको उनले बताए ।

भद्रपुरमा आइतबार आयोजित कार्यक्रममा छिमेकी बचत तथा ऋण सहकारी संस्था झिलझिलेका अध्यक्ष मोहनप्रसाद मैनाली, सहकारीका कार्यकारी निर्देशक एवम् प्रतिष्ठानका सदस्य नवीन ओली, सहकारीका सञ्चालक समिति सदस्य पर्शुराम ढुंगाना, प्रतिष्ठानका सदस्य नारदमणि न्यौपाने, ओली, अनिरुद्र ओलीलगायतले विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेका थिए ।
कार्यक्रममा विद्यालयको तर्फबाट प्रतिष्ठानलाई धन्यवादपत्र प्रदान गरियो । विद्यालयका व्यवस्थापन समिति अध्यक्ष नविनकुमार भट्टराई र प्रधानाध्यापक दीपक दाहालले प्रतिष्ठानले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा समेत सहयोग गरेर विद्यार्थीलाई हौसला प्रदान गर्न आग्रह गरे।

कार्यक्रम संयोजक उमेशचन्द्र ओलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार विनोद सापकोटाले गरेका थिए । प्रतिष्ठानले एक करोड रुपैयाँ अक्षयकोष स्थापना गरेर समाजका चार विधामा उत्कृष्ट व्यक्तित्वलाई वार्षिक १ लाख राशि माथिको पुरस्कार प्रदान गर्दै आएको छ।

सोमबार प्रतिष्ठानकी केन्द्रीय संस्थापक सदस्य तुलसादेवी ओलीले सताक्षीधामको सताक्षी गोलोक गोवर्द्धन धार्मिक संस्थाको अक्षयकोषलाई एक लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने कार्यक्रम रहेको कोषाध्यक्ष ओलीले जानकारी दिए । योसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत प्रतिष्ठानले यो सिजनमा गर्ने कार्यक्रम समापन हुने जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्