झापा, मंसिर १७ । नक्कली सुनको गरगहना भन्दै ठगी गर्ने गिरोहमा संलग्न झापाका चार र दुई भारतीय गरी ६ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

पहेँलो धातुलाई सुन भन्दै सर्वसाधारणलाई झुक्याउने गिरोहका ६ जना पक्राउ परेका हुन् । मोरङ प्रहरीका एसपी नारायण चिमरियाले पत्रकार सम्मेलनमा भने,‘गिरोहले झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा सर्वसाधारणलाई ठगी गरेको पाइएको छ ।’

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा झापाको कमल गाउँपालिका, बाँसबारी बस्ने ५२ वर्षीय अशोक तामाङ, झापाकै कन्काई नगरपालिका वडा नम्बर–९ घैलाडुब्बा बजार बस्ने ५९ वर्षीय धकलबहादुर थिङ, अर्जुनधारा नगरपालिका वडा नम्बर– ११ बस्ने ५४ वर्षको प्रविन तामाङ, हल्दिवारी नगरपालिका वडा नम्बर–३ बाघडाँडा बस्ने ६६ वर्षीय रामबहादुर कन्दङवा छन् । त्यस्तै भारत बंगालको नक्सलबारीका ५१ वर्षीय नारायण गुरुङ र नक्सलबारी दयारामजोत बस्ने ३४ वर्षीय संजय शर्मा छन् ।

प्रहरीले अभियुक्तहरुको साथबाट सुनजस्तो देखिने पहेँलो धातु तिलहरी ४ थान, हार जस्तो देखिने मंगलसूत्र २ थान, सुन जस्तो देखिने टिल ८ थान, कानको रिङ, बेरुवा औठी, लकेट भएको सिक्री कानको झुम्का, ब्रासलेट र कानको रिङ १÷१ थान वरामद गरेको छ । त्यस्तै औठी १०, चाँदीको पाउजु ४, चाँदीको ब्रासलेट १, जिमाला १, सिक्री १ , कालो पोते १ थान बरामद गरेको छ । साथै २ लाख ७२ हजार ४३० रुपैयाँ र २ जार ६३० भारु बरामद गरेको छ ।

अभियुक्तहरूलाई मुलुकी अपराध संहिताको परिच्छेद २१ को दफा २४९ अन्तर्गत ठगी कसुरमा मोरङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । अभियुक्तहरूलाई अपराध संहिताको २४९ को २ (ग) बमोजिम ७ वर्ष सम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्