विनोद सापकोटा,
झापा । लागूऔषध दुर्व्यसनमा फसेका युवायुवतीलाई लक्षित गरेर नेपाली चलचित्र निर्माण भएको छ ।
जनचेतनामूलक यो चलचित्र उदीयमान झापाली निर्देशक कसम खवासले निर्देशन गरेका छन्। उनको यो पहिलो चलचित्र हो। युवायुवतीलाई सुनौलो भविष्यतर्फ डोर्याउन यो चलचित्रले महत्वपूर्ण भूमिका खेलेको निर्देशक खवासले बताए । उनले भने, ‘हामीले चलचित्रको नाम ‘कुलत’ राखेका छौं। कुलतमा फसेर आफ्नो भविष्य बर्बाद बनाइरहेका युवा पुस्तालाई लक्षित गरेर यो चलचित्र निर्माण भएको हो।’
परिवारका सबै सदस्य एकै ठाउँमा बसेर यो चलचित्र हेर्न सकिने निर्देशक खवासले जानकारी दिएका छन्। ‘मेरो छोराछोरीको आचरण, व्यवहार, संगत कस्तो हुनुपर्छ भन्ने सन्देश चलचित्रले देखाएको छ।’ त्यसैका लागि पनि हरेक घरका बुबाआमाले यो चलचित्र हेर्न जरुरी भएको निर्देशक खवासले बताए ।
“कुलत” ले सामाजिक मुद्दा र युवा पुस्ताको जीवनमा लागूपदार्थ दुर्व्यसनले पार्ने नकारात्मक प्रभावलाई मुख्य विषयवस्तु बनाएको छ। यस चलचित्रले कुलतको असर, परिवारमा पर्ने प्रभाव, समाजको दृष्टिकोण र यसबाट उम्किन प्रयास गर्ने पात्रहरूको कथा कुलतमा छ ।
चलचित्रमा मुख्यतः समाज सुधारको सन्देश छ । जसले युवाहरूलाई कुलतबाट टाढा रहन प्रेरित गर्दछ। यस प्रकारका चलचित्रहरूले मनोरञ्जन मात्र होइन, सामाजिक चेतना फैलाउने उद्देश्य पनि राखेको निर्देशक खवासले बताए ।
झापाको बिर्तामोडस्थित पाथिभरा सिने प्लाजामा यो चलचित्र रिलिज भएको थियो। त्यसपछि लक्षित भूगोलमा प्रिमियर शो भइरहेको निर्देशक खवासले बताएका छन्।
दुई घण्टा लामो यो चलचित्रमा लागूऔषध प्रयोगकर्ता, अवैध व्यवसाय गर्ने व्यवसायी, कुलतमा फसेका बुबाआमाको कथावस्तु समेटिएको छ । लागूऔषध प्रयोगकर्ताहरूले कसरी यो अवैध व्यवसाय गरिरहेका छन् भन्ने कुरा चलचित्रले देखाएको छ।
५० लाख रुपैयाँ लागतको यो चलचित्र कुमारी लिम्बू खवास, मानबहादुर साँवा, मोहन फोम्बूले निर्माण गरेका हुन् । रेगन प्रसाईको द्वन्द्व, नरेश चौधरीले छायाङ्कन र तिलक रिजालले सम्पादन गरेको कुलतमा रिसछैन राईको पटकथा छ।
चलचित्र कुलतमा ज्ञानु श्रेष्ठ, सुगम नेम्बाङ र निकी बिक मुख्य भूमिकामा छन् । शिवसताक्षीस्थित डुडामारी बजारमा पहिलोपटक कुलतको प्रिमियम शो भएको थियो । एकैपटक करिब ५सय स्थानीयले यो चलचित्र हेरेको यसका निर्माताले बताएका छन्।
शिवसताक्षी नगरपालिका वडा नं ८ का वडाध्यक्ष सन्तकुमार फेउदेनले समयसापेक्ष र युवालक्षित चलचित्र निर्माण भएको आफूले पाएको बताए । कुलतले पछिल्लो समय समाजलाई निकै प्रभाव पारिरहेको छ । यो चलचित्र हेरेपछि समाजमा सकारात्मक सन्देश आउने वडा अध्यक्ष फेउदेनले बताए ।