झापा,मंसिर १८ । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुन महिनाभर साढे दुई लाख महिलाको परीक्षण गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि ४९ वर्षसम्मका दुई लाख ५० हजार महिलामा पाठेघरको मुखको क्यान्सर परीक्षण तथा रोग पहिचान गर्ने भएको हो ।
महाशाखा प्रमुख डा.विवेककुमार लालले फागुन महिनाभर देशैभर एकैसाथ महिलाहरुमा क्यान्सरसम्बन्धी परीक्षण गर्न लागिएको जानकारी दिए ।
उनले भने, “क्यान्सरको उपचारसँगसँगै रोग लाग्न नदिन समयमै परीक्षण गरी रोकथाम गर्ने मन्त्रीको प्राथमिकता छ । त्यसैअनुसार यस वर्ष अभियानकै रुपमा एकैसाथ परीक्षण गर्ने योजना बनाएका छौँ ।”
उनका अनुसार महाशाखाले यस वर्ष अभियानका रुपमा दुई लाख ५० हजार महिलाको परीक्षण गर्ने लक्ष्य लिएको छ ।
नेपालमा सन् २०२२ मा कुल मृत्यु भएका १४ हजारमध्ये पाठेघरको मुखको क्यान्सरबाट ज्यान जानेको संख्या सात हजार ७६८ रहेको ग्लोबल क्यान्सर अब्जरभेटरीको तथ्याङ्कमा उल्लेख छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२२ मा मात्र नेपालमा पाठेघरको मुखको क्यान्सरका दुई हजार १६९ तथा स्तनसम्बन्धी दुई हजार दुई सय ५५ नयाँ बिरामी पत्ता लागेका थिए ।
हाल नेपालमा हरेक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको छ । तर समयमै परीक्षणबाट समस्या पहिचान भएमा रोग निको हुने चिकित्सक बताउँछन् ।
मन्त्रालयले विश्व क्यान्सर दिवसको अवसर पारेर (माघ २२ गते) बाट दुई सातासम्म १६ लाख ८८ हजार नौ सय किशोरीलाई लक्षित गर्दै पाठेघरको क्यान्सरविरुद्धको निःशुल्क खोप अभियानसमेत सञ्चालन गर्दैछ । आगामी वर्षबाट देशभरका सबै किशोरीले नियमित रुपमा खोप लगाउन पाउने गरी व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए ।