भद्रपुर, मंसिर १८ । सामान्यतया दुई वर्षसम्म कर्मचारीको सरूवा नगर्ने सरकारी नीति रहेपनि दक्षिणी झापाको कचनकवल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरदर दश महिना मात्र टिक्ने गरेको पाइएको छ ।
कर्मचारीतन्त्रलाई राजनीतिले प्रभावित पार्ने प्रयास हुँदा कचनकवलमा प्रमुख प्रशासकीय अधिकृत सरदर दश महिनाभन्दा बढी टिक्न नसकेका हुन् ।
पहिलो स्थानीय तहको निर्वाचनपछि त्यहाँ आएका कुनै पनि प्रमुख प्रशासकीय अधिकृत पूर्ण अवधि बस्ने वातावरण बनेको देखिएन । पहिलो कालखण्डमा राप्रपाको एकछत्र राज रहेको कचनकवलमा राजनीतिक हस्तक्षेपको सुरूवात पनि त्यहिबेलाबाट भएको हो । पछिल्लो कार्यकालमा काँग्रेसको दुईतिहाइ रहेको कचनकवलमा प्रमुख प्रशासकीय अधिकृत आउन नचाहने र आएका पनि न्यूनतम अवधिसम्म नटिक्ने अवस्थाले प्रशासनिक काममा उल्झन आउने गरेको छ ।
पछिल्लो पटक प्रमुख प्रशासकीय अधिकृतले कचनकवल गाउँपालिका छोडेर गएको डेढ महिना बितिसकेको छ । त्यहाँ नयाँ प्रमुख प्रशासकीय अधिकृत को आउने अन्यौल रहँदा प्रशासनिक कामकाजमा समस्या भइरहेको स्थानीयको भनाइ छ । विकास निर्माणका कामदेखि प्रशासनिक कामसम्मको प्रमुख जिम्मेवार पद खाली रहँदा स्थानीयले समस्याको अनुभूति गरिरहेका छन् ।
नेपाली कांग्रेसको दुईतिहाइ बहुमत रहेको कचनकवलमा प्रशासनिक काममा हस्तक्षेप भएको भन्दै दुई बर्षमा ४ जना प्रमुख प्रशासकीय अधिकृतले पालिका छोडेर अन्यत्र सरूवा लिएर गइसकेका छन् भने २०७४ यता ९ जना प्रमुख प्रशासकीय अधिकृत फेरबदल भएको देखिन्छ । राप्रपाको बहुमत रहँदादेखिको राजनीतिक हस्तक्षेप काँग्रेसको दुईतिहाइ बहुमत हुँदासम्म उही गतिमा कायम रहेको भुक्तभोगी कर्मचारीको अनुभव छ ।
विकास निर्माणको रकम विनियोजनदेखि पालिकाका क्षेत्रमा कर्मचारी नियुक्ति, सरूवा, बढुवा, अनुदान, कमिशनको चलखेल वा अवसर प्रदान गर्ने विषयमा राजनीतिक हस्तक्षेप हुने गरेको कर्मचारीको आरोप छ । जनप्रतिनिधि र अन्य कर्मचारीले राजनीतिक हस्तक्षेप गर्ने प्रवृत्ति बढ्दा प्रमुख प्रशासकीय अधिकृत निर्धारित अवधिअगावै सरूवा लिएर हिड्ने गरेको बताइन्छ ।
तोकिएको न्यूनतम समयसम्म पनि प्रमुख प्रशासकीय अधिकृत पालिकामा टिक्न नसक्दा प्रमुख प्रशासकीय अधिकृतविना विकास निर्माणदेखि अन्य सेवा प्रवाहमा ठूलो असर परेको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई बताउँछन् ।
‘पालिकामा कांग्रे्रेसको बहुमतसहितका जनप्रतिनिधि हुनुहुन्छ । हामीले त सहयोग गरेका नै छौं तर कांग्रेसभित्रको अन्तरकलहका कारण प्रमुख प्रशासकीय अधिकृतलाई नचाहिदो दवाब दिँदा बस्न सक्नुहुन्न’ उनको भनाइ छ ।
कचनकवल गाउँपालिकामा २०७४ यता बिमल पोख्रेल, गङ्गा न्यौपाने, रेखनाथ दाहाल, तुलाराज थापामगर, दुर्गाप्रसाद पौडेल, कुमार बस्नेत, हिराकुमारी यादव, सुभाष चन्द्र सुमन, पुण्यप्रसाद पौडेल प्रमुख प्रशासकीय अधिकृत भएर आएका थिए । आठ वर्षमा ९ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएको कचनकवलमा एकजना बराबर १० महिना ६ दिन मात्र बस्ने गरेको देखिन्छ ।