बिर्तामोड,मंसिर १८ । झापाको बिर्तामोडमा सहारा साहित्य साँझ हुने भएको छ ।

वीरता लेडी जेसीज बिर्तामोडको आयोजना तथा सहारा नेपाल साकोसको आर्थिक सहयोगमा यही मंसिर २१ गते सहारा साहित्य साँझ हुने आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

भाषा, धर्म, संस्कृति र साहित्यको जगेर्ना गर्ने उद्धेश्यले वीरता लेडी जेसीजले सहारा साहित्य साँझ कार्यक्रम आयोजना गरेको निवर्तमान अध्यक्ष संगीता गिरीले पत्रकार सम्मेलनमा जानकारी दिइन् ।

वीरता लेडी जेसीजकी अध्यक्ष मेनुका ओलीको अध्यक्षतामा भएको कार्यक्रममा लेडी सेसीजकी पूर्व अध्यक्ष तथा महिला मुक्ति अभियान झापाकी अध्यक्ष राधा सुब्वाको प्रमुख आतिथ्य रहेको थियो ।

सह–सचिव एलिना रिजाल ढकालले स्वागत गरेको कार्यक्रममा जेसीजकी जनसम्पर्क अधिकारी तारा बस्नेतले जेसी आस्था वाचन गरेकी थिइन् । कार्यक्रमको औचित्यमाथि निवर्तमान अध्यक्ष संगीता गिरीले प्रकाश पारेको कार्यक्रममा पूर्व अध्यक्ष तथा नेपाल उद्यमी महिला संघ झापा अध्यक्ष पार्वता खरेल बिमली, सञ्चारिका समूह झापा अध्यक्ष लीला अनमोललगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन महासचिव मुना अधिकारी ढुङ्गेलले गरेकी थिइन् ।

सहारा साहित्य साँझमा ‘नेपाली साहित्यमा यौन बिज्ञान र प्रेम’ बिषयमा साहित्यिक श्रष्टाहरु मनु मन्जिल, मुनाराज शेर्मा र मिश्र बैजन्तीबिच साहित्यिक बहस हुने छ भने गजलकार बिन्दु निरौलासहित अन्य गजलकारसँग गजल सन्ध्या हुने लीला अनमोलले बताइन् । सहारा साहित्य साँझ राष्ट्रिय स्तरको हुने उनले जानकारी दिइन् । पत्रकार सम्मेलनमा पूर्व अध्यक्ष सरु भुर्तेल खनाल, संगीता चिमरियालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्