झापा, मंसिर १८ । अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय दिवस झापामा विविध कार्यक्रमसहित मनाइएको छ।

बिर्तामोड अपाङ्गता स्वावलम्वन संस्था , झापा नेत्रहीन संघ र मेची बहिरा संघको संयुक्त आयोजनामा बिर्तामोडमा ¥याली र सभा गरिएको थियो । विभिन्न प्लेकार्डसहितको ¥याली बिर्तामोड बजार परिक्रमा गरी आदर्श ब्यांक्वेटमा सभामा परिणत भएको थियो । बिर्तामोड अपाङ्गता स्वावलम्बन संस्थाका अध्यक्ष दीपक थापाको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले गरेका थिए ।

मेची बहिरा संघका अध्यक्ष देवी निरौलाले स्वागत गरेको कार्यक्रमको औचित्यमाथि झापा नेत्रहीन संघका अध्यक्ष होमनाथ राजवंशीले प्रकाश पारेका थिए ।प्रमुख अतिथि नगर उपप्रमुख संग्रौला, वीरता लेडी जेसीजकी अध्यक्ष मेनुका ओली, इनर ह्वील क्लबकी अध्यक्ष जुनु बिमली उप्रेती, बिर्तामोड अपाङ्गता स्वावलम्वन संस्थाका सल्लाहकार डा. रुपक खनाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।त्यसअवसरमा इनर ह्वील क्लबलगायत विभिन्न दाताबाट न्यानो कपडा वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन मुना भट्टराईले गरेकी थिइन् ।

त्यस्तै अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस हल्दिबारी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्वन्धी अन्तरक्रिया गरी मनाइएको छ।

‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने नाराका साथ अपाङ्गता भएका व्यक्तिहरूको अधिकारप्रति जनचेतना फैलाउन र उनीहरूको सशक्तीकरणको मार्ग प्रशस्त गर्न यस दिवसलाई विशेष रूपमा मनाइएको हो।

हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेन, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपाने ,१ नं वडाका वडा अध्यक्ष देवीबहादुर थापा,कार्यपालिका सदस्यहरू शान्ता शिवाकोटी, भावना दाहाललगायत अपाङ्गता सरोकार समितिका रामप्रसाद टुडू, जनजागृति माविकी प्रधानाध्यापक इन्दिरा चुडाललगायतको आतिथ्यता रहेको थियो।

हल्दिबारी गाउँपालिका क्षेत्रभित्र रहेका विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको उपस्थिति रहेको कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपानेले अपाङ्गता भएका व्यक्तिहरूको पहिचान, परिचयपत्र वितरणका प्रकियालगायतका विषयहरुमा प्रष्ट पारेका थिए भने कचनकवल गाउँपालिकाका अपाङ्गता सहजकर्ता दिलकुमार राजवंशीले अपाङ्गता भएका व्यक्तिहरूले समाजमा भोग्नु परेका दुःख, के कसरी आफूलाई आत्मनिर्भर बनाउन सकिन्छ, सरकारले गर्नुपर्ने सहायतालगायतका विषयहरुमा प्रशिक्षण दिएका थिए।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लिङ्देनले शारीरिक अपाङ्गता भएका व्यक्तिहरूका फरक फरक क्षमता हुने र त्यसको पहिचान तथा आवश्यक सहजीकरण सबैले गर्नुपर्ने बताएका थिए।

यसैगरी उपाध्यक्ष मैनालीले कुनै पनि प्रकारका अपाङ्गता भएका व्यक्तिहरूलाई अप्ठ्यारो नमानी बाहिर आउन आग्रह गर्दै पालिकाले गर्ने सहयोग निरन्तर गर्ने बताएकी थिइन्।

हल्दिबारी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापा मगरले कुनै पनि अपाङ्गता भएका व्यक्तिहरू आफूले पाउने सेवा सुविधाबाट बञ्चित हुनु नपरोस् भनी अपाङ्गता पहिचान तथा परिचयपत्र वितरण शिविर मंसिर २० गतेबाट क्रमशः ५ वटै वडामा राखिएको जानकारी गराएकी थिइन् ।


त्यस्तै भद्रपुरमा ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइएको छ । नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्र झापा शाखा भद्रपुरको आयोजना अन्तर्राष्ट्रिय अपाङ्गता दिवस सोमबार मनाइएको हो । दिवसको अवसरमा युवा व्यवसायी सञ्जीव घोष र पिंकी घोषले सञ्चालनमा ल्याएको दर्शन गार्मेन्ट उद्योग भद्रपुरले केन्द्रमा आश्रित १४ जना अपाङ्गता भएका व्यक्ति र कर्मचारीलाई जाडो लगाउने न्यानो लुगा (ट्रयाक सुट) वितरण गरेका छन् ।

साथै उनीहरूले दिवा खाजाको समेत व्यवस्था गरिदिएका थिए । सोही अवसरमा मानसिक रोग विशेषज्ञ डा. शशांक पोखरेल र ओमसाई पाथीभरा हस्पिटल भद्रपुरको सहयोगमा निःशुल्क स्वास्थ्य उपचार शिविर पनि सञ्चालन गरिएको थियो ।
मानसिक रोग विशेषज्ञ डा. पोखरेलले केन्द्रमा आश्रित अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधि समेत दिएका थिए । सो शिविरमा केन्द्रमा आश्रितबाहेकका व्यक्तिहरूले पनि स्वास्थ्य परीक्षण गराइएको केन्द्रका पूर्व उपसभापति लता कार्कीले जानकारी दिइन् । केन्द्रका उपसभापति पवन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रमा आबद्ध पदाधिकारी, पत्रकारलगायतको उपस्थिति रहेको केन्द्रका कार्यालय सचिव केदार महतले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्