झापा, मंसिर १९ । क्षितिज नाट्य प्रतिष्ठान नेपालका संस्थापक केन्द्रीय अध्यक्ष तथा नागरिक बचाउ महाअभियानका कार्यबाहक अध्यक्ष माधब कल्पित रिहा भएका छन् ।
पक्राउ परेको ७ दिनपछि मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा उनी रिहा भएका हुन् । गत मंसिर १२ गते अनामनगरस्थित प्रहरी बृतबाट उनलाई नेपाल प्रहरीको सीआइबीले सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । उनीमाथि अभद्र ब्यवहार गरेको आरोप लगाइएको थियो ।
प्रहरी हिरासतमा राखिएका कल्पितले हिरासतभित्रै आमरण अनसन सुरु गरेपछि उनको स्वास्थ्यमा समस्या देखियो । उनलाई मंसिर १३ गते राति उपचारका लागि वीर अस्पताल पुर्याइएको थियो । कल्पितले वीर अस्पतालको स्वास्थ्य सेवामा आफूलाई शंका लागेको भनेपछि उनलाई ग्राण्डी अस्पताल भर्ना गरिएको थियो ।
उनले त्यहाँ पनि आफ्नो अनसन जारी राखेका थिए । अन्ततः २४ दिनका लागि नियन्त्रणमा लिइएका कल्पित जिल्ला प्रशासन कार्यालयबाट ७ दिनमा रिहा भएका हुन् ।