झापा,मंसिर २० । शिक्षाको सवालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा विकसित भएका पछिल्ला घटनाक्रम र प्रणालीलाई समेत समेट्दै नेपाली कांग्रेसले छुट्टै शिक्षा नीति निर्माण गर्ने भएको छ । प्रारम्भिक बालविकासदेखि विश्वविद्यालय तहसम्मको शिक्षा प्रणालीको समयानुकूल सुधार र त्यसका लागि आवश्यक पर्ने राष्ट्रिय नीति निर्माणमा सरकारलाई सहयोग पु¥याउने उद्देश्यले शिक्षा नीति बनाउन लागिएको उक्त पार्टीले जनाएको छ । अहिले सबैजसो पार्टीमा एउटै शिक्षा नीति नहुँदा नेतापिच्छे फरक फरक धारणा सार्वजनिक हुने र त्यसले शिक्षामा समयानुकूल परिवर्तनको पाटोसमेत अलमलमा पार्ने गरेको दृष्टान्तलाई अध्ययन गरेर शिक्षा नीति बनाउन लागिएको पार्टीका शिक्षा विभागका प्रमुख नैनसिंह महरले बताए ।
शिक्षा नीति निर्माणका लागि उक्त विभागले पूर्वप्राथमिक तह, विद्यालय शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा र विद्यालय शिक्षासँग सम्बन्धित सवाललाई लक्षित गरेर समूहगत छलफल तथा बहस सञ्चालन गरिरहेको छ । अबको डेढ वर्षभित्रमा पार्टीका तर्फबाट स्पष्ट शिक्षा नीति बनाइसक्ने महरले बताए । महरका अनुसार शिक्षा नीति निर्माणका लागि मुलुकका सबै निर्वाचन क्षेत्र तथा वडा स्तरबाट समेत सुझाव सङ्कलन गरिने छ । अब बन्ने शिक्षा नीतिलाई पार्टीका तर्फबाट आधिकारिक शिक्षा नीति बनाइने र सार्वजनिक मञ्च तथा संसदीय समितिलगायतमा दिइने सुझाव पनि सोही नीति अनुसार हुने शिक्षा विभागका प्रमुख महरले बताए ।
“संविधानले अनिवार्य तथा निःशुल्क शिक्षाको प्रबन्ध गरेको छ तर कार्यान्वयन भएको छैन । निजी विद्यालयलाई गुठीमा लगेर विद्यालय सञ्चालकलाई अप्ठ्यारोमा पार्न लागिएको छ,” महरले भने, “उच्च शिक्षा चौपट छ । क्याम्पसहरू विद्यार्थी अभावमा बन्द हुन लागिसके । शिक्षालाई यी सबै समस्याबाट तार्नका लागि पनि पार्टीको स्पष्ट शिक्षा नीति चाहिन्छ भनेर लागेका हौँ ।”
नेपाली कांग्रेसका तर्फबाट बनाउन लागिएको भए पनि उक्त नीतिलाई अन्य पार्टीले पनि स्वीकार गर्न सक्ने किसिमको बनाउन कोसिस गरिने पार्टीका शिक्षा विभागका सदस्य हरिसिंह केसीले बताए । कमसेकम अबको ४०÷५० वर्षको मुलुकको भविष्यलाई हेरेर शिक्षा नीति बनाउनुपर्ने मुलुकको आवश्यकता रहेको केसीले बताए ।