झापा,मंसिर २० । सूर्योदय नगरपालिका–७ कन्याममा निर्माण भएको ‘टि टेस्टिङ एण्ड प्रोमोसन सेन्टर’ सञ्चालनको तयारीमा छ।
कोशी प्रदेश सरकार र नगरपालिकाको लगानीमा बनेको उक्त सेन्टर यही मंसिर २७ देखि सञ्चालनमा आउन लागेको हो।
नगरप्रमुख रणबहादुर राईले मंसिर २७ गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए।
’उद्घाटनमा प्रदेशका अन्य मन्त्रीहरू पनि आउनुहुन्छ,’ उनले भने, ’यो मुलुकको पहिलो चिया अनुसन्धान तथा प्रवर्द्धन केन्द्र हो, केन्द्रको पूर्वाधार निर्माणको सबै काम सम्पन्न भएको छ।’
अहिले सेन्टरको भौतिक पूर्वाधार तयार भएको भन्दै आवश्यक उपकरणसमेत जडान भएका नगरप्रमुख राईले जानकारी दिए। उनका अनुसार केन्द्रमा चिया चाख्ने (टी टेस्टिङ)को काम हुनेछ भने चिया अनुसन्धानका लागि भौतिक पूर्वाधार तयार छ।
’आवश्यक थप उपकरण व्यवस्थापन गरिँदैछ । इलामका लागि मात्र होइन, यो सेन्टर देशका लागि पनि नमूना हुने विश्वास लिएका छौँ,’ नगरप्रमुख राईले भने, ’चियाको स्वाद, गुणस्तर जाँचदेखि चियासम्बन्धी सबै किसिमका अध्ययन यही केन्द्रमा हुनेछ।’
केन्द्रमा विश्वभरका जोसुकै चिया व्यापारी वा टी–इन्स्पेक्टर (चियाविज्ञ) ले चियाको गुणस्तर जाँच गर्न सक्ने उनले बताए।
कन्याम घुम्न आउने पर्यटकले थरिथरिका चियाका स्वाद लिन पाउने नगर कार्यालयले जनाएको छ । सेन्टर सञ्चालनका लागि नगरले कार्यविधि तयार गरेको छ। नगरप्रमुख राईले टि टेस्टिङ नगरअन्तर्गत हुने बताउँदै अनुसन्धानको काम भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गर्ने जानकारी दिए।
चिया रोप्न सुरु भएको करिब १६० वर्षपछि इलाममा अनुसन्धान केन्द्र निर्माण हुँदा यहाँका किसानमा उत्साह थपिएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्