झापा,मंसिर २१ । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजमाथि रोमाञ्चक जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा कर्णालीले चितवनलाई ६ विकेटले हरायो ।
जितका लागि एक सय ३१ रनको सामान्य लक्ष्य पछ्याएको कर्णालीले १९.५ ओभरमा चार विकेटो क्षतिमा एक सय ३२ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।
कर्णालीका लागि भारतीय क्रिकेटर शिखर धवनले ४५ रन बनाए । उनले ४१ बलमा चार चौका र एक छक्काको सहयोगमा उक्त रन बनाएका हन् ।
यस्तै चाडविक वाल्टनले ३० र देश खनालले २९ रन बनाए । जिसन मक्सुदले अविजित १२ र अर्जुन घर्तीले ११ रन बनाए । बलिङमा चितवनका कुशल मल्ल, रवि बोपरा र जान निकोल लफ्टी–इटनले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३० रन बनाएको थियो ।
चितवनका लागि बोपाराले ४० बलमा सात चौका र एक छक्काको सहयोगमा ५९ रन बनाए । कप्तान कुल मल्लले २३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङमा कर्णालीका विपिन शर्माले तीन विकेट लिए । जिसम मक्सुदले दुई तथा सोमपाल कामी र नन्दन यादवले एक एक विकेट लिए । लिगमा तीन खेल सकेको कर्णालीको यो पहिलो जित हो ।
यसअघि कर्णाली जनकपुर बोल्ट्ससँग आठ र काठमाडौँ गुर्खाजसँग तीन विकेटले पराजित भएको थियो । तीन खेलका पहिलो हार खेपेको चितवनले यसअघि पोखरा एभेन्जर्सलाई ८७ रन र काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हराएको थियो ।