झापा,मंसिर २१ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङस्थित बालमन्दिर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । फुङ्लिङमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले बालमन्दिरका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।
उक्त संस्थााले विद्यालयमै पुगेर संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यार्थीलाई न्याना कपडा वितरण गरेको हो । विद्यालयमा आयोजित कार्यक्रमकाबिच फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, वित्तीय संस्थाका सञ्चालक समिति अध्यक्ष डा. सुमित्रा मानन्धर लगायतले न्यानो कपडा (ज्याकेट) वितरण गरेका थिए ।
बालमन्दिर आधारभूत विद्यालयमा अध्ययनरत १०२ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको प्रधानाध्यापक धर्मप्रसाद पौड्यालले जानकारी दिए । हालको चिसो मौसममा संस्थाले वितरण गरेको न्यानो कपडाले बालबलिका अर्थात् विद्यार्थीलाई राहत पुगेको प्रधानाध्यापक पौड्यालले बताए ।