झापा,मंसिर २२ । कोशी प्रदेशका बालबालिकाहरुको श्रवणशक्ति जाँच तथा उपचारका लागि किओच दमक बाल अस्पतालले पहिलो पटक सुविधायुक्त मोबाइल अडियोमेट्री भ्यान (एम.ए.भि.) सञ्चालनमा ल्याएको छ । उक्त भ्यानको प्रयोग गरेर श्रवण परीक्षण घुम्ती सेवा पनि सुरु गरेको छ।
किन्ड एन ओर (नेदरल्याण्ड) र करुणा फाउन्डेसन नेपालको सहयोगमा किओच दमक बाल अस्पतालले नेपालमा नै पहिलो पटक मोबाइल अडियोमेट्री भ्यानको प्रयोग गरेर बालबालिकाहरु लक्षित श्रवण परीक्षण घुम्ती सेवा सुरुवात गरेको हो । यो ध्वनिरोधी सवारीसाधन भएकाले जुनसुकै ठाउँमा गएर पनि बालबालिकाको कान तथा श्रवण जाँच गर्न सकिने बताइएको छ ।
जाँचका लागि आवश्यक उपकरणहरू गाडीभित्रै जडान रहेको किओच दमक बाल अस्पतालमा डा. जयमणि श्रेष्ठले बताए । उक्त ध्वनिरोधी भ्यान अर्थात् सवारी साधनले श्रवण मूल्याङ्कनको विश्वसनीयता बढाउने बताए । विद्यालयस्तरमा तथा ग्रामीण क्षेत्रहरुमा कानको स्वास्थ्य जाँच कार्यक्रमहरू आयोजना गर्न यसले धेरै नै सहज हुने श्रेष्ठको भनाइ छ ।
काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) का संस्थापक प्राध्यापक डा. भगवान कोइरालाको पहलमा विशेष गरी विपन्न बालबालिकाहरूमा श्रवण अक्षमता निम्त्याउने कानको अवस्थाहरू पहिचान गर्ने अभियान चलाउँदैछौं र यसले सहयोग पुग्ने विश्वास छ, श्रेष्ठले भने । मोबाइल अडियोमेट्री भ्यानको प्रयोगबाट नमुनाको रुपमा केही विद्यालयका बालबालिकाहरुको कान परीक्षण गरिसकिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्