झापा,मंसिर २२ । भारत सरकारको आर्थिक सहयोगमा तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास गरिएको छ ।
तेह्रथुम निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सीता गुरुङ, आठराई गाउँपालिकाका अध्यक्ष दिल कुमार पाहिम र भारतीय राजदूतावास काठमाडौँका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
’नेपाल भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको नेरु. ३.५४ करोड आर्थिक सहयोगमा खाम्लालुङ स्वास्थ्य चौकीको निर्माण गरिनेछ। भारत सरकारको अनुदान सहयोग आकस्मिक वार्ड, प्रसूति वार्ड, जनरल वार्ड, प्रशासन शाखा र अन्य सम्बन्धित सुविधाहरू सहितको दुई तल्ले स्वास्थ्य चौकी भवन निर्माणका लागि उपयोग गरिनेछ।
यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको हो। अझ तेह्रथुम जिल्लामा अघि बढाइएको यो पहिलो उच्च प्रभाव सामुदायिक विकास परियोजना हो। यस परियोजनाको कार्यान्वयन तेह्रथुमको आठराई गाउँपालिकामार्फत गरिनेछ ।
सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५६३ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४९० वटा परियोजना सम्पन्न गरिसकेको छ । यी मध्ये कोशी प्रदेशमा ९१ वटा परियोजना रहेका छन् ।