झापा, मंसिर २२ । निजी तथा आवासीय विद्यालयहरुको संगठन प्याव्सनको बिर्तामोड नगर कमिटीको आयोजनामा दुई दिने नगर स्तरीय सांस्कृतिक कार्यक्रम शुरु भएको छ ।

बिर्तामोड– २ बेलडाँगीस्थित देवकुल स्कुलमा संचालन भइरहेको प्रतियोगितामा नगरका २१ वटा विद्यालयले भाग लिएका छन् । पहिलो दिन १२ वर्षमुनिको गायन , १२ वर्षमाथिको सिनियर गायन र कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुको सांस्कृतिक नृत्य प्रतियोगिता संचालन गरिएको थियो ।

१२ वर्षमुनिको गायनमा बुद्धस्मृति स्कुल प्रथम , निदि सेकेन्डरी स्कुल द्वितीय र विष्णु भगवती स्कुल तृतीय भएको छ । त्यस्तै सिनियर गायनमा निदि सेकेन्डरी प्रथम , कंचनजघा स्कुल द्वितीय र कंचन स्कुल तृतीय भएको छ । त्यस्तै कक्षा ९ देखि १२ सम्मको सांस्कृतिक नृत्यमा चिल्ड्रेन इन्भाइरोमेन्ट प्रथम , निदि सेकेन्डरी द्वितीय र कंचन स्कुल तृतीय भएको प्याव्सन बिर्तामोडका सहकोषाध्यक्ष दीपक चम्लागाँईले जानकारी दिए ।

प्याव्सन बिर्तामोडका अध्यक्ष सुरेन्द्र खरेलको अध्यक्षता रहेको कार्यक्रमलाई बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले उद्घाटन गरेका थिए । कार्यक्रममा प्याब्सनका जिल्ला ,नगर र पालिकाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । त्यस अवसरमा बिर्तामोड नगरपालिकाबाट सेवा निवृत्त भएका नगर शिक्षा अधिकृत दिनेश आचार्यलाई विदाई गरिएको थियो भने सोही पदमा आएकी लासाङ तामाङलाई स्वागत गरिएको थियो । प्याब्सन बिर्तामोडका उपाध्यक्ष अमृत बस्नेतले स्वागत गरेको कार्यक्रमको संचालन सचिव दीपांखर मैनालीले गरेका थिए ।