झापा, मंसिर २३ । मोबाइल लुट्नकै लागि झापा गाउँपालिकाका वयोबृद्धा फूलमाया मुर्मूको हत्या भएको खुलेको छ ।

हिजो दिउँसो अन्दाजी ४.३० बजे झापा गाउँपालिका वडा न. ६ पुष्पाञ्जली टोल बस्ने ८३ वर्षीया मुर्मू घरमा एक्लै भएका बेला लुटपाट गर्ने मनसायले आएका झापा गाउँपालिका वडा न.७ बस्ने २८ वर्षीय अजय यादव र शिवसताक्षी नगरपालिका वडा न.७ वस्ने २४ वर्षीय अशोक यादवले कलको ह्याण्डिल र फरुवाले प्रहार गरी हत्या गरेका हुन् । उनीहरुले मुर्मूको घरबाट एउटा सामसुङ र अर्को कलर्स मोबाइल लुटेका थिए । दुवैले मुर्मूको टाउको र चिउडोमा प्रहार गरी हत्या गरिसकेपछि गाईवस्तुले घाँस खाने डुँडमा परालले छोपेर बृद्धाको शव लुकाएका थिए ।

जिल्ला प्रहरी कार्यालय झापा तथा मातहतबाट खटिएको प्रहरी टोलीले नेपाल प्रदेश प्रहरी कार्यालय केनाइन शाखा धरानबाट आएको कुकुरसहितको टोलीको सहयोगमा अनुसन्धान गर्ने क्रममा दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । उनले प्रतिवादीहरुलाई खोजतलास गर्ने क्रममा घटनास्थलबाट लुटिएको मोबाइल र एक थान साइकलसहित झापा गाउँपालिका वडा नं.७ मदरगाछबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको जानकारी दिए । पक्राउ परेका दुवैजना लागूऔषध दुर्व्यसनी भएको बताइएको छ । लागूऔषधकै लागि उनीहरुले लुटपाट गरेको हुनसक्ने स्थानीयले बताएका छन् ।

छोरी ज्वाइँको सहारामा आफ्नै घरमा बस्दै आएकी मुर्मूले अघिल्लो दिन जग्गा बिक्री गरेकी थिइन् । लड्के भन्ने व्यक्तिले जग्गा खरिद गरेवापत एक लाख रुपैयाँ दिएका थिए । उनीहरु त्यो रकम लुट्न आएको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले झापा गाउँपालिका वडा न.७ वस्ने २७ वर्षीय पवनलाल राजवंशी र उनका भाइ २३ वर्षीय धनलाल राजवंशीलाई पनि आवश्यक अनुसनधानको लागि नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्