झापा,मंसिर २३ । नेपालले हिउँदयामका लागि भारतबाट ६ सय मेगावाट बिजुली आयात गर्ने भएको छ । भारतले आगामी जुनसम्म बिजुली आयात गर्न नेपाललाई अनुमति दिएको हो । करिब १५ दिनअघि बिजुली आयात गर्न भारतले अनुमति दिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
पछिल्लो समय भारतले २०२४ जुनसम्म मात्रै बिजुली आयात गर्ने अनुमति दिएको थियो । यस पटक पनि प्राधिकरणले करिब ४ महिनाअघि नै अनुमति नवीकरण गर्न भारतलाई पत्राचार गरेको थियो । तर अनुमति नवीकरण गरिदिएको थिएन ।
हिउँद सुरु भएपछि खोला तथा नदीमा पानीको बहाव घटेर जलविद्युत् उत्पादन कम हुने भएकाले आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गरिँदै आएको छ । बर्खायाममा भारत र बंगलादेशलाई बिजुली बेच्ने नेपालले हिउँदमा भने भारतमै भर पर्नुपर्ने अवस्था छ । जलाशययुक्त आयोजना नभएकाले हिउँदमा अझै केही वर्ष भारतकै भर पर्नुपर्ने प्राधिकरणले जनाएको छ ।
हरेक वर्ष अपुग बिजुली भारतबाट आयात गर्न भारत र नेपालबीच छुट्टाछुट्टै सम्झौता भएको छ । त्यसमध्ये भारतको प्रतिस्पर्धी बजारबाट ल्याइने बिजुलीको सम्झौता प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ । करिब १५ दिनअघि नै भारतबाट बिजुली आयात गर्न अनुमति नवीकरण गरिदिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘हिउँदभर बिजुली आयात गर्न पाउने गरी भारतले करिब १५ दिनअघि नवीकरण गरिदिएको छ,’ उनले भने, ‘भारतले पिकआवरमा बिजुली आयात गर्ने अनुमति दिएको छैन, दिउँसो र राति १० बजेपछि मात्रै दिएको छ ।’

भारतले आगामी मार्च १५ सम्म २० घण्टा बिजुली आयात गर्न अनुमति दिएको छ । ‘आगामी मार्च १५ सम्म साँझ ५ देखि राति ९ बजेसम्म आयात गर्न पाइँदैन, तीबाहेक हरेक समय आयात गर्न पाउँछौं,’ घिसिङले भने, ‘त्यसपछि बिहान ६ देखि बेलुका ६ बजेसम्म बिजुली आयात गर्न पाउँछौं ।’

प्राधिकरणका अनुसार भारतले ४ सय केभी ढल्केबर–मुजफ्फरपुरबाट ६ सय र ३३ केभी टनकपुर प्रसारण लाइनबाट ५४ मेगावाट गरी कुल ६५४ मेगावाट बिजुली आयात गर्ने अनुमति दिएको छ ।

प्राधिकरणले १३२ केभी प्रसारण लाइनबाट समेत बिजुली आयात गर्न अनुमति मागे पनि दिइनसकेको प्राधिकरणका विद्युत् व्यापार विभागका निर्देशक राजन ढकालले बताए । ‘ढल्केबर र टनकपुरबाट ६५४ मेगावाट बिजुली आयात गर्न अनुमति मागेका थियौं, त्यो पाइसक्यौं,’ उनले भने, ‘यसबाहेक १३२ केभी प्रसारण लाइनबाट करिब ६ सय मेगावाट बिजुली आयात गर्न अनुमति मागेका थियौं । त्यो आएको छैन ।’

यस वर्ष डिसेम्बरको मध्य वा अन्तिमदेखि अपुग हुने बिजुली आयात गर्नुपर्ने प्राधिकरणले जनाए पनि पहिलो सातादेखि नै सुरु भएको छ । अधिकतम सय मेगावाटसम्म बिजुली आयात सुरु भइसकेको ढकालले जनाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्