झापा, मंसिर २४ । झापाको दमकमा सवारी दुर्घटनामा परी घाइते भएका एकजनाको गएराति निधन भएको छ ।
१९ दिनअघि दमकको क्याम्पस मोडमा पहिचान हुन नसकेको सवारीसाधनको ठक्करबाट दमक ५ निवासी ७२ वर्षीय कमल खरेल गंभीर घाइते भएका थिए । घाइतेलाई उपचारका लागि न्यूरो हस्पिटल विराटनगर लगिएको थियो । स्वास्थ्यमा सुधार नभएपछि परिवारले चार दिनअघि घरमै ल्याएका थिए । राति १०.२९ बजे उनको मृत्यु भएको मृतकका भाइ टीकाराम खरेलले बताए ।
ठक्कर दिने सवारीसाधनको अझ पहिचान हुन सकिरहेको छैन । प्रहरीले घटनामा संलग्न सवारीसाधनको खोजी गरी कार्वाही गर्न हेलचेक्रयाइँ गरिरहेको भाइ टीकाराम खरेलले बताए । बशिष्ठ आश्रम खरेल प्रबर्धन समितिका सदस्य ,खरेल कुल मन्दिर लखनपुरका परिकल्पनाकारसमेत रहेका खरेलको आज बिहान १० बजे कन्काई माईमा अन्त्येटि गरिने जनाइएको छ ।