झापा , मंसिर २४ । झापाको कनकाई नगरपालिका वडा न ६ का नवनिर्वाचित वडाध्यक्ष लक्ष्मीप्रसाद ओलीले पदभार ग्रहण गरेका छन्।
गत मंसिर १६ गते भएको निर्वाचनमा स्वतन्त्र उम्मेद्वार ओली निर्वाचित भएका थिए । सोमबार कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले आफ्नै कार्यकक्षमा सपथ गराएपछि नवनिर्वाचित ओलीले वडा कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।
नगर प्रमुख पोखरेलले सपथ ग्रहण गराउँदै बधाईसहित कार्यकालको सफलता शुभकामना दिएका थिए ।कार्यक्रममा उपप्रमुख आशा शर्मा शिवाकोटीले स्वागतसहित बधाई तथा शुभकामना दिएकी थिइन् ।
प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठले संचालन गरेको कार्यक्रममा वडा अध्यक्षसहित कार्यपालिका सदस्य, वडा सदस्य कर्मचारी , कनकाई स्वतन्त्र गणतान्त्रिक समूहका संरक्षक शेरबहादुर थापा , जामुनबारी सामुदायिक वन समितिका अध्यक्ष पर्शुराम गिरी, सचिव दिपक ओली , स्वतन्त्र नागरिक समूह वडा न ६ का अध्यक्ष मेदनीप्रसाद विमली , राष्ट्रिय स्वतन्त्र पार्टी कनकाई ६ का सभापति घनेन्द्र बस्नेतलगायतको उपस्थिति रहेको थियोे ।
गत मंसिर १६ गते भएको उपनिर्वाचनमा चापाकल चुनाव चिह्न लिएर उठेका ५५ वर्षीय स्वतन्त्र उम्मेदवार ओली चार सय ९३ मतका साथ निर्वाचित भएका थिए । गत असार २ गते तत्कालीन वडाध्यक्ष दीर्घबहादुर थापाको निधन भएपछि कनकाई ६ मा उपनिर्वाचन भएको थियोे । नवनिर्वाचित वडाध्यक्ष ओलीले २०७४ सालको चुनावमा समेत विजयी भई ५ वर्ष वडाध्यक्षको कार्यभार सम्हालेका थिए ।