झापा, मंसिर २५ । आफ्नै घरमा राखेको १६ वर्षीया नाबालिकालाई पटक पटक करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटी अस्पताल भर्ना भएका छन् ।

फाइल फोटो

उनलाई बीएण्डसी अस्पतालमा हिजो साँझ भर्ना गरिएको हो । पक्राउ परेपछि शिवाकोटीलाई स्वास्थ्य परीक्षणका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ अस्वस्थ भएपछि उनलाई बीएण्डसी अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।

पीडित नाबालिकाका तर्फबाट शिवाकोटीविरुद्ध हिजै इलाका प्रहरी कार्यालय बिर्तामोडमा जाहेरी दर्ता भएको डीएसपी प्रकाश विष्टले बताए । आज उनलाई म्याद थपका लागि झापा जिल्ला अदालत लगिने विष्टले जानकारी दिए । त्यस्तै पीडित बालिकाको स्वास्थ्य परीक्षण गरएको छ ।

करिब ८ बर्ष अघिदेखि शिवाकोटीको बिर्तामोड–५ स्थित घरमा घरेलु कामदारका रुपमा काम गर्दै आएकी नाबालिकालाई शिवाकोटीले पटकपटक करणी गरेको खुलेको छ ।

बाबुको मृत्यु भएपछि ती किशोरी बिर्तामोडस्थित एक आफन्तकोमा बस्दै आएकी थिइन् । शिवाकोटीका टाढाका आफन्त पर्नेका घरमा बस्दै आएकी किशोरीलाई आफ्नो घरमा राखेर पढाउने भनेर शिवाकोटीले लिएर गएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्