झापा, मंसिर २५ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा शनिबारदेखि सुरु हुने एसिसी यु–१९ महिला एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा गरेको छ ।
क्यानले पूजा महतोको कप्तानीमा १५ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । टोलीमा गत महिना भएको विश्वकप छनोट खेलमा रहेकी मनीषा उपाध्यायलाई समावेश गरिएको छैन । किरणकुमारी कुवँर र अनु कडायतले टोलीमा स्थान बनाएका छन् ।

पहिलो पटक आयोजना हुन लागेको यु–१९ महिला एसिया कपमा नेपाल समूह ‘बी’ मा छ । यस समूहमा भारत र पाकिस्तानसँगै छ । नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पुस १ गते र भारतसँग पुस २ गते खेल्नेछ ।

यस्तै समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश र मलेसिया रहेको छ । एसियाबाट यु–१९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कप खेल्ने मौका पाएको हो ।

यु–१९ महिला विश्वकप सन २०२५ को जनवरीमा मलेसियामै आयोजना हुँदैछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्