झापा,मंसिर २५ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हातामा रहेको गल्फ कोर्स पूर्वी नेपालका गल्फ प्रेमीका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।
धरान गल्फ क्लबका अनुसार उक्त कोर्समा धरान, इटहरी, विराटनगरलगायत पूर्व क्षेत्रका साथै पोखरा र काठमाडौँबाट पनि गल्फ खेल्न आउने गरेका छन् । हाल यहाँ विभिन्न ठाउँबाट दैनिक ४० देखि ५० भन्दा बढी गल्फ खेल्न आउने गरेका क्लबका अध्यक्ष हरिबहादुर राईले बताए । उनका अनुसार क्लबमा अहिले ८० जना सदस्य आबद्ध छन् ।

सन् १९६२ मा स्थापना भएको उक्त गल्फ कोर्सले स्थानीयस्तरमा खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलेको राईको भनाइ छ । क्लबमा २०७३ सालदेखि गल्फ खेल्दै आएका खेलाडी जीतेन्द्र राई ‘सिङ्गल हेण्डी क्याप’ खेलाडीका रूपमा सक्रिय छन् । सुरुमा स्वास्थ्यका लागि खेलेको बताउँदै उनले अहिले यसको अनिवार्य अभ्यास गर्ने सोख बसेको उल्लेख गरे ।
उनले भने, “विशेषगरी यो खेल मैले स्वास्थ्यका लागि लिएको हुँ । यो खेल्न त्यति सजिलो भने छैन । सिक्नका लागि लामो समय लागे पनि यो खेल ‘जिरो इञ्जोर’ खेल भएकाले यसमा रमाइरहेको छु ।”

आफूले गल्फ खेल्न थालेपछि विभिन्न टुर्नामेन्टमा सहभागी भएर उपाधिहरू पनि जितेको जीतेन्द्रले जानकारी दिए । प्रोफेसनल गल्फ नेपाल एशोसिएसनले गरेको टुरमा आफू सिङ्गल हेण्डी क्याप भएकाले ‘स्टण्डसाइड’को खेलाडी भएर ‘टिम इभेन्ट’मा प्रथम स्थान हासिल गरेको उनने बताए । पछिल्लो समय गल्फ आयआर्जन गर्ने प्रभावकारी माध्यम बन्दै गएकाले पनि खेलाडीको आकर्षण बढेको उनको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्